चौतारा अस्पतालको सेवा नयाँ भवनबाट

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको प्रादेशिक अस्पताल चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

८ साउन, चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको प्रादेशिक अस्पताल चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । छिमेकी चीन सरकारको सहयोगमा बनेको नयाँ भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने भर्खरै सुरु गरिएको हो ।
वि.सं. २०७२ को भुकम्पले अस्पतालको भवन भत्किएपछि अस्पतालले प्रि फाइभ अस्थाई भवनबाट सेवा दिँदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । अहिले चौतारा अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सक्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु छन् । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।
अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालले महिला तथा प्रसुती सेवामा पनि राम्रो गरिरहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको छ । महिनामा ३ हजारले ओपीडी सेवा लिएको तथ्यांक अस्पतालसँग छ । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।
उनका अनुसार चौतारा अस्पतालमा विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले १४ जना डाक्टरहरु कार्यरत छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई स्थायी दरबन्दी अन्तरगत करारमा ३४ जना माग गरिएको
जनाइएको छ । आम नागरिकको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै हेमोडाइलसिस सेवा छिट्टै सुरु गर्ने भण्डारीले जानकारी दिए । अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएमा उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्य हुने विश्वास स्थानीयको छ । जुगलखबरबाट

प्रतिक्रिया