इतिहास रच्दै लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बनेकी छिन् ।

११ साउन, काठमाडौं । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बनेकी छिन् । सरकारले कायममुकायम मुख्यसचिव रहेकै अवस्थामा लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान सरकार गठन भएको पहिलो मन्त्रिपरिषद् बैठकले गत ३१ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव गड्तौलालाई कायममुकायम सचिवको जिम्मेवारी दिएको थियो । उनै कायममुकायमलाई सरकारले पूर्ण जिम्मेवारीसहितको मुख्यसचिव नियुक्त गरेको हो । गड्तौला नेपालको प्रशासनिक इतिहासमै पहिलो महिला मुख्यसचिवको रेकर्ड कायम गर्न सफल भएकी छिन् ।
अघिल्ला मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेसँगै निलम्बनमा परेका थिए । अर्याल निलम्बनमा परेपछि उनी स्वतः निमित्तको जिम्मेवारीमा थिइन् । उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा सारेर वर्तमान सरकारले नै गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
सरकारले आफूलाई मुख्यसचिव नियुक्त गरेकामा उनले खुसी व्यक्त गरिन् । ‘मलाई सुम्पेको जिम्मेवारीप्रति म सरकारलाई धन्यवाद दिन चाहन्छु,’ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘यद्यपि, छोटो समय छ, तोकिएको आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’
वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकामा उनले सरकारप्रति आभार प्रकट गरिन् । सचिवसम्म हुने प्रक्रिया भएको र त्यसैबमोजिम आफू अघि बढेको तर, मुख्यसचिव हुने कुरा सरकारको मामिला भएकाले त्यसको जिम्मेवारी पाउँदा गौरवान्वित भएको प्रतिक्रिया उनले दिइन् ।
यसरी नै समावेशीकरण मूर्त हुने उनको भनाइ छ । ‘मैले निजामती सेवामा जागिर खाएँ । सचिवसम्म हुने त प्रक्रिया छन् । त्यसैअनुसार म आएँ । तर, मुख्यसचिवचाहिँ भइन्छ नै भन्ने हुँदैन । मुख्यसचिव ‘पिकअप’ हो । सचिवहरूमध्येबाट सरकारले मुख्यसचिव नियुक्त गर्ने हो । यस्तैमा हो सहयोग आवश्यक पर्ने । यसरी नै हो समावेशीकरणलाई मूर्त बनाउने,’ उनले भनिन् ।
मुख्यसचिव नियुक्त भएकामा प्रधानमन्त्री केपी ओलीले नै उनलाई बधाई दिएका छन् । बधाई दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलालाई,आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई ’

गड्तौला ०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी हुन् । ०५२ मा शाखा अधिकृतबाट आफूले निजामती करिअर सुरु गरेको उनले बताइन् । त्यसपछि ०६३ मा उपसचिव र ०७० मा सहसचिव बनेकी थिइन् । २७ कात्तिक ०७७ मा उनलाई सरकारले सचिवमा बढुवा गरेको थियो । उनी कानुनतर्फको सचिव हुन् ।
तर, ३८ दिन मात्रै मुख्यसचिव रहनेछिन् गड्तौला
सरकारले मुख्यसचिवमा नियुक्त गरे पनि गड्तौला लामो समय यो पदमा रहनेछैनन् । ५८ वर्षे उमेरहदका कारण उनी आगामी १५ भदौमा सेवानिवृत्त हुनेछिन् । मुख्यसचिवको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ । तर, तीनवर्षे कार्यकाल वा ५८ वर्षे उमेरहद जुन पहिला आउँछ, त्यसैबाट अवकाश हुने व्यवस्था छ । यसैबमोजिम उमेरहद पहिला आउँदा गड्तौला त्यसैबाट अवकाश हुनेछिन् ।
निजामती सेवामा महिलाको प्रतिनिधित्व २९ प्रतिशत, सात सचिव महिला
निजामती सेवामा महिलाहरूको प्रतिनिधित्व क्रमशः बढ्दै गएको देखिन्छ । निजामती किताबखानाको पछिल्लो तथ्यांकअनुसार अहिले निजामती सेवामा ८५ हजार ४५५ कर्मचारी कार्यरत छन् । त्यसमा पुरुष ६१ हजार १३ र महिलाको संख्या २४ हजार ४४२ छ । प्रतिनिधित्वका हिसाबले कुल कार्यरतको अनुपातमा महिलाको हिस्सा २८।६० प्रतिशत हुन आउँछ ।
त्यस्तै, अहिले निजामती सेवामा मुख्यसचिवसहित ७१ सचिवको दरबन्दी छ । त्यसमा मुख्यसचिव गड्तौलासहित सात सचिव छन् । महिला सचिवमध्ये उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सरिता दवाडी, परराष्ट्र मन्त्रालयकी सेवा लम्साल, महालेखापरीक्षक कार्यालयकी विन्दु विष्ट, नेपाल ट्रस्टको कार्यालयकी प्रमिलादेवी बज्राचार्य र गण्डकी प्रदेशकी प्रमुखसचिव लक्ष्मीकुमारी बस्नेत छन् ।
सचिवको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् गड्तौला
मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् । सचिव पदमा नियुक्त भएको आधारको वरिष्ठता क्रमअनुसार अहिले जेष्ठतम् सचिवमा तोयनारायण ज्ञवाली छन् । यसपछि तोयम राया आउँछन् । तर, राया सचिवबाट राजीनामा दिएर महालेखापरीक्षकमा नियुक्त भइसकेका छन् । रायापछि क्रमशः रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुदर्शन खड्का र मधुकुमार मरासिनी छन् । वरिष्ठताको १०औँ नम्बरमा भए पनि सरकारले उनलाई नै मुख्यसचिव नियुक्त गरेको छ ।
४० वर्षअघि पहिलो महिला सचिव बनेकी थिइन् चन्द्रकला
निजामती सेवामा पहिलो सचिव चन्द्रकला किरण थिइन् । सचिवपछि मुख्यसचिवमा आउन महिलालाई ४० वर्ष लागेको छ । किरणको गत २० वैशाखमा निधन भइसकेको छ । ९४ वर्षको उमेरमा उनको निधन भएको थियो ।
२००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिवमा ०४१ सालमा नियुक्त भएकी थिइन् । शिक्षासचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गरेकी थिइन् । किरण ०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया