हाइड्रो पावरका लगानीकर्ता र स्थानीयलाई सहजीकरण गर्दै जुगल

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले आफ्नो पालिकाभित्र हाइड्रो पावर व्यवसाय गरिरहेका लगानीकर्ता र स्थानीय बासिन्दाका विचमा देखिने असन्तुष्टि सम्बोधनका लागि सहजीकरणको पहलकदमी लिएको छ ।

१३ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले आफ्नो पालिकाभित्र हाइड्रो पावर व्यवसाय गरिरहेका लगानीकर्ता र स्थानीय बासिन्दाका विचमा देखिने असन्तुष्टि सम्बोधनका लागि सहजीकरणको पहलकदमी लिएको छ ।
गाउँपालिकाले क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद माधव सापकोटा, प्रदेश सभा सांंसद सरल सहयात्री, स्थानीय जनप्रतिनिधि र भूगोलभित्र विद्युत उत्पादन गरिरहेका र काम सुरु गरेका साना ठूला १० वटा हाइड्रो पावर कम्पनीका प्रतिनिधि राखेर सहजीकरण बैठक गरेको हो ।
काठमाडौंमा आयोजित बैठकमा पालिकाले लिएको पहलकदमीको सांसद सापकोटा र सहयात्रीले प्रसंसा गरे । गाउँपालिकाले पालिकाभित्र काम गरिरहेका आयोजनाहरुलाई अपनत्व लिएर सहजिकरण गर्नाले लगानीको वातावरण बन्ने विश्वास सांसद द्वयको थियो । पालिकाले स्थानीयले उठाएका विषयबस्तुहरुलाई ख्याल गर्दै श्रम बैंक मार्फत स्थानीयको रोजगारीका लागि लगानीकर्ताहरुसँग समन्वय गर्न गरेको प्रस्तावमा द्वयले खुलेर प्रशंसा गरे ।
छलफलपछि स्थानीय तह र व्यवसायीहरुकाविचमा विभिन्न छ विषयमा निर्णय भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले पढेर सुनाए ।
जस अनुसार जुगल गाउँपालिका भौगोलिक क्षेत्रभित्र निर्माण भइरहेको सम्पूर्ण हाइड्रोपावरहरुले प्रचलित कानून वमोजिम प्रत्यक्ष प्रभावित स्थानीयहरुको भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वन र वातावरण विकास लगायतको क्षेत्रमा वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व रकम गाउँपालिकाले कार्यविधि बनाई सो कार्यविधि बमोजिम कार्यान्वयन गर्ने लगायतका निर्णय भएको छ । अध्यक्षका अनुसार जुगल गाउँपालिका भौगोलिक क्षेत्रभित्र निर्माण भईसकेका वा निर्माण भईरहेको सम्पूर्ण हाइड्रोपावरहरुले आवश्यक कागजातहरु सहित गाउँपालिकामा सुचिकृत गर्ने निर्णय भएको छ ।

निर्णयले स्थानीयतहका नागरिक र लगानीकर्ता दुबैलाई सहज हुने विश्वास पालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले व्यक्त गरे । लगानीकर्ताहरुले छलफलका लागि धन्यवाद दिँदै कतिपय विषयहरु संघीय कानुन अनुसार हुने भएकोले अध्ययनका लागि समय माग गरे । पालिकाले आयोजनाहरुको अपनत्व लिँदा चाँडो निर्माण सम्पन्न हुने उनीहरुको विश्वास थियो । छलफलमा जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विक र वडाध्यक्षहरु पनि सहभागी थिए ।

प्रतिक्रिया