विद्युत महसुल नतिर्ने व्यापारी र लेखा समिति सभापतिबीच भएको रहस्यमय भेटबारे छानबिन होस् : सांसद सापकोटा

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र) का नेता माधव सापकोटाले विद्युत् महसुल नतिर्ने व्यापारी र लेखा समिति सभापतिबीच रहस्यमय भेट भएको भन्दै सो भेटबाट छानविन हुनुपर्ने माग गरेका छन् ।

१५ साउन, काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र) का नेता माधव सापकोटाले विद्युत् महसुल नतिर्ने व्यापारी र लेखा समिति सभापतिबीच रहस्यमय भेट भएको भन्दै सो भेटबाट छानविन हुनुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा धारणा राख्ने क्रममा सांसद सापकोटाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको नाम नइलिकन सभापतिले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका र बक्यौता रहेका व्यापारीलाई भेटेको दावी गर्दै छानविनको माग गरेका हुन् ।
सांसाद सापकोटाले भने ‘डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारिका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु ।’
उनले दुध किसानको भुक्तानी गर्न पनि ध्यानाकर्षण गराएका छन् । कृषिप्रधान देशमा किसानहरूले आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै आपत्ति जनाएका हुन् । ‘हाम्रो देशमा कृषिप्रधान पेसाको बाहुल्य रहेको छ । असार १५ दही चिउरा, साउन १५ खिर खाएर मनाउने चलन छ, आज साउन १५ देशभर खिर खाएर मनाइराखेका छौं,’ सांसद सापकोटाले भने, ‘तर बडो दुखको कुरा किसानहरूले बडो मिहिनेत र दुःख गरेर उत्पादन गर्ने दुधको पैसा ७ महिनादेखि बक्यौता छ, उता दुग्ध विकास संस्थान विघटनको संघारमा छ । सरकारका कृषिमन्त्री हिजो उभिएर जवाफ दिनुभयो, यसका बारेमा बोल्नुभएन । त्यसैले विषयको गम्भीरतालाई मनन गरेर सभामुखबाट रुलिङ होस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया