आहा जालबारीमा ढुंगे धाराको पानी, संरक्षणमा बलेफीको लगानी  

जसै विकासका नाममा फरक खालका धारा बनाइए, ढुंगे धाराको संरक्षण छायाँमा पर्दै गयो । नयाँ पुस्ताले ढुंगेधाराबारे सुन्न, बुझ्न र महसुस गर्न मुस्किल जस्तै हुन थाल्यो ।

२८ साउन, सिन्धुपाल्चोक । वरिष्ठ गायीका कुन्ती मोक्तानको आवाजमा गुन्जने ‘पानी मिठो त्यो ढुंगे धाराको, माया मिठो नेपाली पाराको, झिल्के मजुर, ख्याल माया लाग्दैन हो तिम्रै हजुर’ बोलको गीत एकताका खुब चर्चीत थियो ।

त्यो भन्दा चर्चीत गाउँदेखि सहरसम्म जताततै भेटिने ढुंगे धाराको चिसो पानी थियो । यो गीतले जति मिठास दिन्छ, त्यो भन्दा बढी मिठास पहाडका खोंच, ठूला -ठूला चौतारी वरिपरि रुखका नजिक र पहरा कन्दराबाट कलकल मुल फुटेर आउने पानीलाई ढुंगेधारामा पिउँदा आउँथ्यो ।

कवि माधव घिमिरेले चैत वैशाख कवितामा ‘चौतारीमा वर पिपलको बोट नौलो लगाऔं, छहारीको तलतिर बसी गीत एउटा म गाउँ’ भनेर गरेको कल्पना जस्तै हजुरबा पुस्ताले चौतारीमा रोप्ने रुखमुनी हिउँदमा पनि नसुक्ने मिठो र चिसो पानी पिएकाहरुलाई बोटलमा भरिएका पानीले त्यो स्वाद दिन सकिरहेको छैन । जसै विकासका नाममा फरक खालका धारा बनाइए, ढुंगे धाराको संरक्षण छायाँमा पर्दै गयो । नयाँ पुस्ताले ढुंगेधाराबारे सुन्न, बुझ्न र महसुस गर्न मुस्किल जस्तै हुन थाल्यो ।

नयाँ संविधान निर्माण पछि राज्यको पुनर्संरचनाबाट संविधानमै अधिकार सम्पन्न स्थानीय तहहरुले पुरातात्वीक एवं ऐतिहासिक सम्पदाको संरक्षणलाई पनि ध्यान दिएको पाइएको छ । सिन्धुपाल्चोक जिल्लाको ब्रम्हायणी र सुनकोशी नदीको बीचमा रहेको बलेफी गाउँपालिकाले पुरातात्वीक एवं ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान केन्द्रीत गरेको पाइएको हो । गाउँपालिकाले भुकम्प, बाढी पहिरो र समयक्रमा जीर्ण बनेका मन्दिर, गुम्बा, ढुंगेधारा, ऐतिहासिक स्थलको संरक्षणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रबेश’ले बताए । उनै गंगाबहादुरले गाउँपालिकाको वडा नं ६ मानेखेत जालबारी कात्तिकेटोलमा ढुंगेधारा संरक्षणको माग गर्ने स्थानीयलाई स्यावासी दिँदै माग पुरा गरिदिए । स्थानीय नारायण चौलागाईंलगायत टिमले मिलेर गाउँपालिकाको तीन लाख बजेटमा ढुंगेधारालाई पुरानै स्वरुपमा फर्काए । अझ फराकिलो र व्यवस्थित बनाए ।

सबैको बेवास्तामा परेको र जीर्ण बन्दै गएको गाउँको ढुंगेधाराको पुनर्निर्माणका लागि आवाज उठाउने राजु शर्मा चौलागाईं केही समय अघि राजधानी काठमाडौं बस्ने छोराछोरी लिएर गाउँ पुगे । बर्षातपछि मुल फुटेर भरिएको ढुंगे धाराबाट बगेको पानीले उनलाई त लोभ्यायो नै उनका छोराछोरी समेत धाराको पानीमा निकैबेर खेले, रमाए, खुसी भए, फोटो खिचे, समाजिक सञ्जालमा राखे । यो खुसीमा उनले गाउँपालिका अध्यक्ष तामाङलाई फोन गरेर खुसी मात्रै साटेनन्, संरक्षणको क्षेत्रमा काम गरेकोमासमेत धन्यवाद दिए ।

अध्यक्ष तामाङका अनुसार पालिकाले यस बर्ष पनि ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण एवं संरक्षणलाई ध्यान दिएर बजेट विनियोजन गरेको छ । ‘हाम्रो पनलाई जोगाइराख्न हामी काम गरिरहेका छौं’, उनले भने ।  

प्रतिक्रिया