जुगल गाउँपालिकामा बन्न लागेको ‘मिनि रङ्गाशाला’को भित्री कथा – फोटो फिचर

अध्यक्ष स्याङ्बोका अनुसार यो मिनि रङ्गाशाला गाउँपालिका आफैंले बनाउन लागेको हो ।

३० साउन, सिन्धुपाल्चोक । जिल्लाको विकट तर स्रोत सम्पन्न जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले साउन २२ गते बेलुका पौने नौ बजे ग्राफिक्स गरिएको तीनवटा तस्बिरसहित एउटा स्टाटस पोष्ट गरे ।
जहाँ लेखिएको थियो ‘जुगल मिनी रङ्गशाला जुगल-१ सेलाङ मानेडाडा, ठेक्का प्रक्रियामा‘ । उनले पोष्ट गरेको ग्राफिक्सको सुन्दरता र दुर दराजमा रंगशाला बन्न लागेको विषयमा धेरैले खुसी व्यक्त गर्दै प्रसस्त कमेन्ट गरे । गाउँपालिका अध्यक्षलाई पर्यटन प्रवर्द्धन सहयोग गरिरहेका अभियन्ता मिलन तामाङले ‘जुगलको महत्वकांक्षी योजना जिल्लाको गौरब‘ भनेर कमेन्ट गरे । स्थानीय पेम्बा तामाङ दोङले त्यसैमा कमेन्ट थपे, जुगल गाउँपालिकाको केन्द्रबिन्दु सेलाङ यातायात को सुबिधा भएको ठाँउ धेरै राम्रो काम गर्नु भएछ । यो रंगशालामा के भैंसी बोका चराउने हो जुगल सरकार ? जुगल तिर जनतालाई चाहिँ एउटा मोटर बाइक जाने बाटो राम्रो छैन गाउँपालिका कार्यालय पनि सेलाङ तिर लगे राम्रो’ । करिब दुई सय कमेन्ट गरेकाहरुमध्ये धेरैले समयमा सम्पन्न गर्न सुझाव दिँदै बधाई ज्ञापन गरेका छन् । पोष्टमा इन्दिरा श्रेष्ठले ‘फोटोमा मात्र सिमित नहोला गाउँठाउमा बिकास र उन्न्ति प्रगति भएको राम्रो हो‘ भनेर कमेन्ट गरेकी छन् । देवाङ तामाङले ‘काल्पनिक फोटो चाहिँ राम्रो रहेछ । वास्तविकतामा यतिको बनाऊ छ होला त ? हेर्न बाकी छ । म चाहिँ बनाएर देखाएपछि मात्र बधाई दिने खालको मान्छे परे’ भनेका छन् । केहीले भने आलोचनात्मक सुझाव पनि दिएका छन् । नविन गुरुङले ‘यो रंगशालामा के भैंसी बोका बाख्रा रागा पाल्ने हो। राज्यको यत्रो लागानी गरेर के उपलब्धि हुन्छ। जनताले तिरेको कर यसरी ध्वस्त पार्न पाइदैन। यो सरासर गलत काम हो’ भन्न भ्याएका छन् । अमर लामाले ‘खोइ यो रंगशाला देखे पनि रिस उठ्छ, रात दिन नभनी काम गर्यौं ओभर टाइमको आसले, पैसा नै दिँदैनन् ठेकेदारहरुले तर पनि राम्रो लाग्यो‘ भनेका छन् ।
एउटा गाउँपालिकाले बनाउन लागेको एक हजार जना हाराहारी अट्ने मिनि रङ्गशालाको बास्तविकाता के हो त, हामीले गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोसँग सोध्यौं । अध्यक्ष स्याङ्बोका अनुसार यो मिनि रङ्गशाला गाउँपालिका आफैंले बनाउन लागेको हो । संघ र प्रदेशलाई पनि सहयोग मागेपनि सकारात्मक जवाफ नआएपछि पालिका आफैंले २०८३ सालभित्र काम सम्पन्न गर्ने योजनासहित काम गरिरहेको छ । उनका अनुसार आर्थिक बर्ष २०७९/८० मा ४३ लाख बराबरको काम भएको छ भने आर्थिक बर्ष २०८०/८१ मा ५० लाखको काम भएको छ । चालु आर्थिक बर्ष २०८१/८२ मा ३ करोडको ठेक्काको चरणमा छ । पाँच करोड बजेट नबढ्ने गरी निर्माण गर्न लागिएको यो मिनि रङ्गशाला निर्माणका लागि छनौट गरिएको माने डाँडा आफैंमा उपयुक्त स्थान रहेको गाउँपालिकाको दावी छ ।

पालिका भित्र अधिकांस स्थान बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिको जोखिममा रहेपनि मिनि रङ्गशाला निर्माणस्थल स्थिर प्रकारको भूगोलमा रहेको अध्यक्ष स्याङ्बोले सुनाए । चौताराबाट बाँसखर्क हुँदै र ढाँडे बाँसिम्ले हुँदै नियमित बस चल्ने यो स्थानमा पहिले पनि सिलवालहरुले टुँडीखेल बनाउन प्रयास गरेको इतिहास छ ।

पालिका अध्यक्ष स्याङ्बोका अनुसार पालिकाले हरेक वडामा केही न केही देखिने विकास निर्माणको काम गर्ने उदेश्यका साथ १ नंबर वडामा यो काम थालिएको हो । जुगलमा ७ वडा वडा छन् । वडा नं -१ सेलाङ ब्रम्हायणी नदी पारी छ । पहाडको थाप्लो परेको क्षेत्र सुरक्षित समेत ठानिएको छ । वडा नं -२ गोल्चेको भुभाग जोखिमयुक्त छ । लिदिको पहिरो यहाँको एक उदाहरण हो । वडा नं -३ गुम्बा हिमालहरुको काख हो । काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल यहिँ पर्दछ । वडा नं -४ पाङताङ, कात्तिके बजार चर्चीत छन् । वडा नं -५ मा ढाँडे बजार क्षेत्र, गाउँपालिका कार्यालय र चीन सरकारले बनाइदिएको चर्चीत रत्नराज्य माध्यमिक विद्यालय छ । वडा नं- ६ मा हाप्रा, विशिंखरलगायतका बस्ती र पानीको प्रसस्त स्रोत छ । वडा नं – ७ याङ्लाकोट चर्चीत बस्ती हो । प्रसिद्ध संयुक्त बस्ती याङ्लाकोट, विशिंखरले विशिष्ट पहिचान बोकेका छन् । गाउँपालिका भित्र मात्रै हाल १० वटा हाइड्रोपावर सञ्चालन र सञ्चारलको तयारीमा छन् । स्लेट ढुंगा, लेकाली आलु, निउरो, चौंरीको उत्पादन र जडीबुडीको उपलब्धताले भरिपूर्ण जुगलले मिनि रङ्गाशाला निर्माण गर्न लागेको हो ।
रंगशाला निर्माणबारे आएका प्रतिक्रियालाई सकारात्मक रुपमा लिंदै गाउँपालिका अध्यक्ष स्याङ्बोले युवा गाउँमा नहुनु राष्ट्रिय समस्या भएको बताए । समयमा काम सम्पन्न गरेर प्रश्नहरुको जवाफ दिने उनको धोको छ । जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरु, हरेक बर्ष हुने राष्ट्रपति रनिङसिल्डजस्ता खेलकुद गर्न, पालिका स्तरमा हुने अन्य खेलकुदका कार्यक्रम गर्न मिनि रङ्गाशाला प्रयोग गरिने उनको भनाई छ । पालिकाले यस कार्यका लागि विशेष प्राथमिकता दिएको अध्यक्ष स्याङबोले बताए ।

सिन्धुपाल्चोका व्यवस्थित खेलकुद मैदान बन्न सकेका छैनन् । चौतारामा निर्माणधिन रंगशाला पुरा हुन अझै समय लाग्ने देखिएको छ । प्रदेशबाट भएको लगानीमा कभर्डहलहरु र विद्यालय तथा क्याम्पसका चौरहरुमा खेलकुदको कार्यक्रम हुँदै आएका छन् । सेभेन ए साइड फुटबलका लागि समेत व्यवस्थित खेलमैदानको अभाव छ ।

प्रतिक्रिया