‘भगवान गाडीमा सवारपछि भावविह्वल भक्तजन भन्छन् : प्यार से बोलो’

ती भगवान कस्ता छन् भने अग्ला अग्ला, दाह्री जुँगा पालेका, चुच्चा नाक भएका, अरुलाई सत्तोसराप गर्न त ऋषि दुर्वासाले पनि नभ्याउने खालका, नौटंकी गर्नलाई हिमवत खण्डका चिरपरिचित हिरो भनेर कहलाएका राजेश हमलादेखि भुवन केसीका सुपुत्र अनमोल केसीले समेत नभ्याउने खालका..

‘बूढापाकाहरु ‘बाँच्नु पर्छ, अनेक देख्न पाइन्छ’ भन्थे, हो रहेछ । अहिलेसम्म बाँचेकै कारण यो बबुरोले पनि अनेक देखेको छ । यो कलियुगाँ अरु त अरु भगवानकै दर्शन गर्ने पवित्र अवसर पनि प्राप्त हुँदा यो बबुरोको दिल ‘दिन दुई गुणा रात चौगुणा’ खुशी छ  । भगवान कृष्णको लीला जस्तै अनेक लीला रच्न सक्ने त्यस्ता भगवानको दर्शन गर्न पाउँदा यो बबुरो अक्क न बक्क तीन छक्क मात्र परेको छैन धन्य पनि छ । नहोस् पनि कसरी ? हिमवत खण्डमा प्रकट भएको त्यो भगवान ३२ मात्र हैन ४२ लक्षणले युुक्त भएको बबुरोको ठहर छ । हुनत: तो भगवानको लिला दस जिब्रो भएको शेष नाग त बखान गर्न सक्दैन भने म जाबो एकजिब्रे बबुरोले कसरी गर्न सकुँला र ? 

त्यसो त हिमवत खण्डमा तेत्तिसकोटी देवीदेवता छन् । यस खण्डका मनुष्यगणले ती तेत्तिसकोटी देवी देवताको लीला हेरेर वाक्क, दिक्क, हाक्क थुक्क, प्याक्क भएसी मुक्तिदाता, अन्नदाता, तारनहारको रुपाँ तो भगवानको जन्म भएको रे भन्ने तीन लोक चौध भूवनाँ गाइँगुइँ हल्न चल्या छ । हिमवत खण्डमा तो भगवानको जन्म भएसी उसलोकका हिमवत खण्डमा मनुष्य, नाक, यक्ष, किन्नर र राक्षसगणसमेत मख्ख मात्र भएका छैनन् काटीकुटी श्री हरि विष्णुकै अवतार भन्दै जयजयकार गर्न थाल्या छन् ।

दोहारो श्रीमती, दोहोरो नागरिकता र दोहोरै राहदानीसहित हिमवत खण्डमा देदिव्यमान ज्योतीसहित प्रकट भएका ती भगवान कस्ता छन् भने अग्ला अग्ला, दाह्री जुँगा पालेका, चुच्चा नाक भएका, अरुलाई सत्तोसराप गर्न त ऋषि दुर्वासाले पनि नभ्याउने खालका, नौटंकी गर्नलाई हिमवत खण्डका चिरपरिचित हिरो भनेर कहलाएका राजेश हमलादेखि भुवन केसीका सुपुत्र अनमोल केसीले समेत नभ्याउने खालका, भाषणबाजी र स्ट्न्टबाजीका लागि बाह्रैमास घण्टी बजाउँदै हिड्न सक्न्या अद्भूत क्षमतायुक्त छन् ।

लोकका मनुष्य, नाग, यक्ष, किन्नर र राक्षसगणले साक्षत भगवान ठानी फूल अक्षता नैबैद्य धुप दिई सत्तारोहण गराइकन ती भगवानलाई दत्तचित्त भई पूजाआजा गरेपछि सत्ताको सिंहासनमा पनि विराजमान गरिदिए । सत्तामा पुगेसी र पुग्नु अगावै  तेतिस बर्खदेखि उसलोकका मनुष्यले पुज्दै आएका विष्णुलाई ‘तेरो पोल खोलिदिउँ, तैंले वृन्दासँग छल गर्या बात तीन लोक चौध भूवनमा कहिदिउँ भन्दै थर्काउने, महादेवलाई तँलाई धतुरे, तँ भाङधतुरो खाइकन मशानघाटमा तेतिस  वर्षदेखि नाङ्गै सुत्दै आएकाले तेरो हैसियत के भन्दै पाखुरी सुक्र्याउने, अनि कहिले ब्रम्हालाई नै दाह्री बूढो दाह्री उखलेर टुँडिखेलामा उभ्याएर राउण्ड किक हानेर नाकको डडाल्नो भाँचिदिन्छु भन्ने, बहिखाता हातमा लिँदै तेरो फाइल खोलिदिउँ, हिसाब किताब गरिदिउँ, नर्कमा पठाइदिउँ ? भन्दै नानातरहले निन्दा गरेर तेतिसकोटी देवीदेवतालाई नै थर्काउने र मर्काउने गर्दागर्दै तहाँ उप्रान्त एक दिन सत्ताको स्वर्गबाट एक्कासी गल्र्यामगुल्र्लुम्म झरिलिए । 

सत्ताको स्वर्गबाट झरेसी अचेल ती भगवानलाई सार्वजनिक गाडी चढ्ने मोह ह्वात्तै बढ्या छ । सत्ताको स्वर्गमा पेजेरोरुपी वायुपंखी घोडा एण्ड पुष्पक विमान चढेर उड्ने भगवानलाई अहिले सार्वजनिक गाडी चढेर, कान्तिपुर नगरीभित्रका रत्नपार्क टु कोटेश्वर, कोटेश्वर टु चाबहिल हुँदै चारै दिशा घुम्न्या अनौठो रहर जाग्या छ । सत्ताको स्वर्गमा रहँदा तेरा फाइल खोलिदिउँ ? तेरा फाइल खोलिदिउँ ? भन्दै थर्काइमर्काइ गर्ने अनि कामको नाउँमा वरको सिन्को पर नसारेका भगवानले गाडी चढेसी निश्चित भक्तजनहरुको जयजयकार सुनिएको हो  । 

भन्छन्, ‘देखिस् हाम्रा भगवान मनुष्यगणको दुःखपीडा बुझ्न पुष्पक विमान छाडेर मनुष्यसँगै पेसेञ्जर बन्दै गाडीमा हुँइकिने गर्या छन् । हाम्रा महान् तथा गौरवशाली भगवान तिमेरुको जस्तो होइन ।’ भक्तजनहरुले ओठाँ सूर्ती कोच्दै फुर्ति लाएकै समयमा भगवानका सेनामेना, नन्दी भिरङ्गिीहरु पनि आदेशलाई शीरोधार्य गर्दै, युट्युबे नारदमूनीसहित सार्वजनिक यातायातमा मनुष्यगणको सकस बुझ्न गाडी दौडाहामा निस्केका छन् । आफ्ना निजी प्राइभेट पुष्पक विमान वा सो सरहको गाडीलाई आलिशान महलरुपी मन्दिरको ग्यारेजमा  थन्काएर, नली खुट्टो लम्काएर, कानका जाली फुट्नेगरी घण्टी बजाएर सार्वजनिक यातायातमा नै भगवानका हूलले चढ्न थालेसी अचेल अचम्म त उसलोकमा निकै चर्चा एण्ड परिचर्चा हुन थालेको हो ।

भगवान सत्ताको सिंहासनमा विराजमान हुँदैको बखत त्रिशुलीमा गाडी बेपत्ता भयो । ६० भन्दा बढी मनुष्य हराए, त्यतिखेर सत्ताको भाङधतुरो खाएर आनन्दले लठ्ठिएका भगवान भनाउँदाको अहिले के को नौटङ्की ? भन्दै कोही कोही मनुष्यगणले प्रश्न तेर्साएका छन् । कसैले नाटक र कसैले स्टन्टको स्टिक हान्न सिपालु भनेका ती भगवानको सार्वजनिक गाडी अभियान अर्को नयाँ स्ट्न्ट स्टिक मात्र भएको सबैलाई ज्ञात भएको छ ।

मनुष्यगणबाट यस्ता गुनासा आएपछि आँखा रातो पार्दै क्रोध मिश्रित भावमा भगवान भन्छन्, ‘आफू पनि स्टन्टको शस्त्रले प्रहार गर्नु, नसके चुपचाप बस्नु ।’ हुन त महायज्ञबाट उसबेला, महाभारतकालीन युगमा द्रौपदी उत्पन्न भए जस्तै स्टन्टकै अग्निकुण्डोबाट उत्पन्न भएका ती भगवानले साउनमा आँखा फुट्या गोरुले जहिले पनि हरियो मात्र देख्छ भनेझँे स्ट्न्ट नै स्टन्ट बाहेक अरु केही नगर्ने र नदेख्ने उसलोकका नाग यक्ष, किन्नर, सकल मनुष्यगणले प्रष्ट, स्पष्ट एवम् खुलस्त चाल पाइसकेका छन् । अहिले सार्वजनिक यातायातलाई बाँदरको पुच्छर लौर न हतियारका रुपमा उनीहरुले बेमौसमी व्याख्या एवम् विवेचना गर्न थालेको अर्थ लगाइएको छ ।

मनुष्यगणलाई भगवानले पहिलोपटक यस्तो गाडीको अनुभव बटुलेका हैनन् । सिंगान पुछ्दै कटु समाउँदै सार्वजनिक यातायात चढेर हुर्केका, बढेका भगवान अनि उनका सेनामेनाहरुलाई थाहा नभएको पनि हैन । सार्वजनिक यातायातको सकस, समस्या र अनुभवका उखरमाउलो उल्कापात । त्यही भएर पनि यस्ता तातो न छारोको कलाविहीन नाटक मञ्चन गर्न थालेसी उसलोकका मनुष्यगणले नयाँ जोगीको संज्ञा दिएर खरानी घसेको भन्न थालेका छन् । यसअघि पनि भगवानले विदेशबाट फर्क, स्वदेशमा नै छ स्वर्ग भन्दै स्टन्टको दिव्याशस्त्र नै प्रहार गरे ।  सय जनालाई रोजगारी, समुन्नत मुलुकको भकारी भनेर डकारी हान्या विज्ञापनको ब्रम्हाशस्त्र यतिखेर वायुमण्डलमा नै मडारिएको छ । अहिले ती सबै स्टन्ट अपान वायु बनेर उनै भगवानको राजनीतिक आयु सकाउन सलबलाइरहेको छ । हे प्रभू उनै भगावन जानून । ब्लु बसको बकवास ‘चुप बस’ मा सीमित भएको कुरा त इन्द्रेको बाउ चन्द्रेलाई पनि था भइसकेको कारण यो बबुरो बढी बखान गर्ने आँट गर्दैन ।

हिमवत खण्डका आदिकालीन देवीदेवताले पनि स्टन्टको इँजार फुकालेर नाङ्गै हिँडेको इतिहास बेलाबखतमा ट्रोल बनेकै छ । विशेषतः चुनावी महासंग्राममा कोही देवता हलो जोत्दै गरेको किसानका खेतमा गएर हलो जोत्ने, कोही धान कुट्ने, कोही भारी बोकेर जगलाई आन्द्राभूँडी निस्कने गरेर हँसाएको सन्दर्भ अहिले पनि हिमबतखण्डमा ट्रोल बन्ने गरेको छ । 

जे जस्तो भएनि आदिकालीन देवी देवताहरु आन्दोलनका संग्रामबाट भगवान भएर प्रकट भएका थिए । सादगी, सदभाव, इमान्दार मनुष्यमूखी ती भगवान सत्तारोहणसँगै सुरासुन्दरीमा भूल्दै कालान्तरमा भगवानबाट भष्मासुर भए । परन्तु हिमवतखण्डका न्यू ब्राण्डका भगवानको न विगत बलियो भयो न बर्तमान नै निर्बल । जन्मँदा नै दुई देवी काखाँ राखेर मस्ति गर्ने, दुई पासपोर्ट र नागरिकता बोक्ने, रणसंग्रामको बखतमा लुसुक्क भागेर खुसुक्क शरणार्थी बन्ने, सहकारीको शस्त्र प्रहार गर्दै मनुष्यगणका सर्वनास गर्ने अनि विगतको पाप पखाल्न आफूलाई भगवान हुँ भन्दै, भन्न लगाउँदै सत्ताको सिंहासनमा विराजमान हुने गरेका भगवानको बखान जति गरे नि सकिँदैन । आगे प्रिय भक्तजन प्यार से बोलो !’ जन आस्थाबाट

प्रतिक्रिया