स्मृति दिवसमा सिन्धुपाल्चोकको कम्युनिष्ट पार्टीका संस्थापक शंकर नेपालबारे चर्चा

सिन्धुपाल्चोक जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक शंकर नेपालको व्यक्तित्व र योगदानबारे बृहत चर्चा गरिएको छ ।

५ भदौ, खाडीचौर । सिन्धुपाल्चोक जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक शंकर नेपालको व्यक्तित्व र योगदानबारे बृहत चर्चा गरिएको छ ।
नेपालको ९१ औं जन्मजयन्ती तथा ११ औं स्मृति दिवसको अवसरमा शंकर नेपाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपस्थित राजनीतिक दलका नेताहरु र सामाजिक व्यक्तित्वहरुले उनले जीवनकालमा उठाएका मुद्दा र संघर्षका विषयमा चर्चा गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष एवं सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले शंकर नेपालले क्रान्तिकारी भुमिसुधारको क्षेत्रमा देखाएको लोभलाग्दो सक्रियता स्मरण गरे । अध्यक्ष सापकोटाले इतिहासको सम्मान गर्न जानिएन भने नयाँ इतिहास लेख्न सकिन्न भन्ने सोचले कार्यक्रम आयोजना गरिएको बताए । जगत बहादुर बोहराको स्मृतिमा पुस्तक प्रकाशन गरी बालुवाटारमा प्रधानमन्त्री प्रचण्डबाट विमोचन गरेर इतिहासलाई सम्मानको प्रयास गरिएको बताउँदै अध्यक्ष सापकोटाले इतिहासलाई वर्तमानसँग जोड्ने प्रयासलाई जारी राखिने बताए ।


कार्यक्रमका प्रमुख अतिथि, नेकपा एमालेका पोलिटव्युरो सदस्य अरुण नेपालले आफ्नै घरमा सिन्धुपाल्चोक कम्युनिष्ट पार्टीको पहिलो अधिवेशन भएको स्मरण गरे । अरुण नेपाल शंकरका छोरा हुन् । आफ्ना बाले २०३६ सालको जनमत संग्रहका बेला ठूला नेता बोलाएर बहुदलको पक्षमा आमसभा गरेको सुनाउँदै उनले योगदान गर्नेको चर्चाले उहाँहरुप्रति सम्मान भएको बताए ।
नेकपा (माओवादी केन्द्र) पोलिटव्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज केशब नेपालले शंकर नेपालले उठाएका मुद्धा र गरेका कामकै कारण आज उनलाई सम्झिएको बताए । पदमा हुँदा वा नहुँदा शंकर नेपालको आचरणमा परिवर्तन नभएको विषय महत्वपूर्ण भएको उनको भनाई थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य सुवाष कर्माचार्यले शंकर नेपाल आन्दोलनको पर्याय भएको बताए । शंकर नेपाललाई सम्झँदा विगतलाई मात्रै नभएर उनले देखेको सपना पुरा भए नभएकोबारे ख्याल गर्नु पर्नेमा कर्माचार्यको जोड थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज सरेश नेपालले शंकर नेपाल जनताको पीडा र दालचामलबारे चासो राख्ने नेता भएको स्मरण गरे । फारोतिनो जीवन विताएका शंकर नेपाल जिल्लामा कम्युनिष्टहरुको साझा नेता रहेको उनको भनाई थियो ।
त्यसअघि बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले शंकर नेपालको समग्र जीवनीबारे प्रस्तुती गरेका थिए । उनले नेपाल आम जनताका लागि निरन्तर काम गर्ने नेता एवं अभियन्ता रहेको बताए । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ऋषिराम पौडेलले प्रस्तुतीमाथि टिप्पणी गर्दै शंकर नेपालको जीवनको विभिन्न पाटापक्ष केलाएका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष केदार क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अमृता नेपाल प्रभाले गरेकी थिइन् । कार्यक्रममा जिल्लाका कम्युनिष्ट नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया