सेतीदेवी मावि पूर्व विद्यार्थी समाज गठन : अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमश सापकोटा, तामाङ र शर्मा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ स्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको भेलाबाट पूर्व विद्यार्थी समाज गठन भएको छ ।

१७ भदौ, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ स्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको भेलाबाट पूर्व विद्यार्थी समाज गठन भएको छ ।

काठमाडौंको एक पार्टी प्यालेसमा शनिवार सम्पन्न भेलाबाट पूर्व विद्यार्थी माधव सापकोटा ‘सुबोध’को अध्यक्षतामा समाज गठन भएको हो । उनी हाल संघीय संसद, प्रतिनिधि सभा सदस्य छन् । यस्तै समाजको उपाध्यक्षमा गंगा बहादुर तामाङ ‘प्रवेश’ चयन भएका छन् । तामाङ बलेफी गाउँपालिकाको अध्यक्ष छन् । समाजको सचिवमा राजेन्द्र शर्मा चयन भएका छन् । शर्मा गैर सरकारी संस्था महासंघ नेपालका निर्वाचित उपमहासचिव हुन् । समाजको कोषाध्यक्षमा विष्णुमाया सापकोटा, सदस्यहरुमा धनञ्जय शर्मा, कमल नाथ पराजुली, दिपा सापकोटा, नवराज सापकोटा,  मातृका सुवेदी, रामचन्द्र नेपाल र सुनिल तामाङ चयन भएका छन् । पूर्व विद्यार्थी समाजको गठनपछि विद्यालयले समग्र क्षेत्रको विकासका लागि समाज कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेको छ ।

विक्रम संवत २०३४ सालमा स्थापना भएको सेतीदेवी माध्यमिक विद्यालयले हाल प्राविधिक तथा व्यवसायिक शिक्षा, वाली विज्ञानसमेत सञ्चालन गरिरहेको छ । २०५२ सालदेखि एस.एल.सी. हालको एस.इ.इ.परीक्षामा विद्यालयबाट १ हजार १ सय ७ विद्यार्थी सहभागी भएका छन् । विद्यालयबाट १ हजार ५ सय भन्दा बढी विद्यार्थीले अध्ययन पुरा गरिसकेका छन् ।  

सेती देवी माध्यमिक विद्यालयमा पढेर देशका राजनैतिक, प्रशासनिक, सरकारी निकाय, गैरसरकारी निकाय, कृषि तथा व्यवसाय, वैदेशिक अध्ययनमा रहेका सबैलाई संगठित गरी नियमित रूपमा, भेटघाट, छलफल, अन्तरक्रिया गरी विद्यालयको समग्र क्षेत्रमा सहयोग गर्ने उदेश्यले समाज गठन गरिएको सेती देवी पूर्व विद्यार्थी समाजले जनाएको छ ।  

समाजले संस्थागत रूपमा विधानसहित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने,  पूर्व विद्यार्थीहरू संगठित भई नियमित रूपमा, भेटघाट, छलफल, अन्तरक्रिया गर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक, विद्यार्थी तथा अभिभावकको क्षमता विकास, आवश्यकता अनुसार विद्यार्थी छात्रवृत्ति, खेलकुद सामग्री, पोशाक तथा शैक्षिक सामग्री प्रदान, पूर्व विद्यार्थी पुनर्मिलनलगायतका क्षेत्रमा सहयोग गर्ने, पूर्व शिक्षकहरूको समेत भेला,  अन्तरक्रिया गर्ने, पूर्व विद्यार्थीहरूको प्रोफाइल तयार गर्नेलगायतका उदेश्य राखिएको सचिव राजेन्द्र शर्माले जानकारी दिए ।   

प्रतिक्रिया