पलेशालाई स्वागत, सम्मान र नगद पुरस्कार

पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ भने सम्मान र ठूलो राशीको नगद पुरस्कार प्रदान गरिएको छ ।

२० भदौ, काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ भने सम्मान र ठूलो राशीको नगद पुरस्कार प्रदान गरिएको छ ।

खेलबाट फर्केकी उनलाई बुधबार बिहान त्रिभुवन विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गरेका थिए । उनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक हात पारेकी थिइन । स्वदेश फर्के लगत्तै स्वागत र सत्कार गरिएकी उनलाई दिउँसो काठमाडौं नगरपालिका, प्रधानमन्त्री र राष्ट्रपतिले भिन्दा भिन्दै सम्मान र नगर पुरस्कार दिए ।

गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ । पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख  सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गरे ।

बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरे । बालुवाटारमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् ।  उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी  हुन् ।

यस्तै बुधबार नै पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सम्मान गरे ।  पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

को हुन पलेशा

पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् ।

चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।”

सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन ।

पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् ।

सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् ।

सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए । उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया