‘हिंसा’ शब्द नसच्याएसम्म माओवादीले संसद चल्न नदिने

माओवादीले प्रतिनिधिसभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

९ भदौ, काठमाडौं । माओवादीले प्रतिनिधिसभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेका थिए ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो । ‘जनयुद्ध, गणतन्त्र, संघीयता, संविधानलाई अपमान गर्नेका काम भएको छ ।
संविधानका व्याख्यात्मक टिप्पणीमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनबारे स्पष्ट पारिएको छ,’ माओवादी मुख्य सचेतक हितराज पाण्डेले भने, ‘हिंसा भन्ने शब्द उल्लेख गरेर जनयुद्धलाई अपमान गर्ने काम भएको छ । संविधानको मर्मविपरीत व्याख्या गएिको छ । संसद्को अवरोधलाई अझ सशक्त बनाउने निर्णय भएको छ । यसमा सहमति नभईकन संसद् अघि बढ्न सक्दैन ।’
प्रमुख सचेतक पाण्डेले एमाले सांसद भट्टराईले माओवादी सशस्त्र हिंसा शब्द प्रयोग गरेपछि नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख घिमिरेले यसबारे छानबिन गर्ने निर्णय गरेका थिए । त्यसपछि छानबिन गरी घिमिरेले बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी नाम उल्लेख नगरी ‘हिंसा’ शब्द यसअघि पनि प्रयोग भएको उल्लेख गर्दै असंसदीय नभएको निर्णय सुनाएका थिए । त्यसपछि माओवादी सांसदले बैठक अवरुद्ध गरेका थिए ।
पाण्डेले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष’ भन्नेले विसं। १९९७ साल, २००७ साल, २०१८ साल, २०२८ साल, २०३५र०३६ साल, २०४२ साल, २०४६ सालमा भएका संघर्ष एवं आन्दोलनहरू र विसं।, २०६२र०६३ सालमा भएका ऐतिहासिक जनआनदलोलन र माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलन र थारूहटलगायत आन्दोलन’ रहेको बताए ।
माओवादी अध्यक्ष दाहालले बैठकलाई सम्बोधन गर्दै एमालेका सांसदले ‘जनयुद्ध’ अपमान मात्र होइन, संविधान निर्माणका बेला भएको व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गर्दै संविधानविपरीत काम गरेको बताए । उनले यसको सशक्त प्रतिवाद गर्न सांसदलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभामा माओवादीलाई क्रूर तरिकाले प्रस्तुत गर्ने एमालेको नीति रहेको निष्कर्ष निकाल्दै उसले त्यसलाई सच्याउन आग्रह गरेको छ । भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । माओवादीले भने ‘हिंसा’ सम्बन्धी शब्द नसच्याए त्यस दिनको बैठक पनि अवरुद्ध गर्ने बताएको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले सभामुखको निर्णयविरुद्ध विरोधमा उत्रने माओवादी संसदीय दलको निर्णय असंसदीय भएको टिप्पणी गरे । ‘माओवादीको यो निर्णय संसदीय व्यवस्था कमजोर बनाउने, सभामुखको भूमिकालार्ई कमजोर बनाउने, प्रतिनिधिसभाको नियमावलीको अधिकारलाई अपहरण गर्ने गरी आएको छ,’ उनले भने । उनले माओवादीको संसद् अवरोध जारी गर्ने निर्णय प्रतिशोधपूर्ण भएको बताए । ‘माओवादीले संसदीय प्रणालीलाई आत्मसाथ गरेको पाइन,’ उनले भने । कान्तिपुरबाट

प्रतिक्रिया