थबेन्द्रप्रसाद ढकाल (२००६) साविक बाँसबारीसँग ”इतिहासमा सिन्धुपाल्चोक” लेखन सिलसिलामा भेटेर जिल्लाको पश्चिमी भेगका बारेमा केही भावगत र केही वस्तुगत ऐतिहासिक जानकारी लिने अवसर मिल्यो । उनीसँग केहीबेर कुराकानी भयो । उनको मिलनसारिता, स्मरण शक्ति, प्रश्नोत्तर गर्ने क्षमता, नेतृत्व दक्षता र ७५-७६ बर्से उमेरको क्रियाशीलता देख्दा भर्खर ४०-४५ का हुन् कि भन्ने अनुभूति भइरह्यो ।
• बाँडेगाउँको यात्राका क्रममा रत्नप्रसाद आचार्यले २०३३ सालको गाउँफर्क राष्ट्रिय अभियानमा मनोनित हुने प्रतिनिधिहरूलाई बिम्ब बनाएर सिन्धुपाल्चोकका पञ्चायत (स्थाननाम)प्रति लेखेका कविता सुनाए । रोमाञ्चित लाग्यो । जगन्नाथ आचार्यको घरैमा पुगेर उनको कम्युनिस्ट राजनीति इतिहासका बारेमा एक रात गन्थन गरियो ।
• यात्राका क्रममा बाह्रबिसे राम्चेका तीर्थराज ढकालसँग पनि भेट भयो । तीर्थ ढकाल स्मरणीय क्षमता भएका जिल्लाका एक बौद्धिक व्यक्ति रहेछन् भन्ने महसुस भयो । त्यस्तै थाङपालकोटका उदय सापकोटा पनि एक सचेत र इतिहासलाई ख्याल राख्नसक्ने व्यक्तिका रूपमा पाएको थिएँ । सापकोटाले पाँचपोखरी थाङपालभित्रका पञ्चायतहरूका प्रधानपञ्चहरू नाम रुजु गर्ने सिलसिलामा महत्त्वपूर्ण सल्लाह दिएका थिए ।
• यात्राका क्रममा पाँचपोखरी थाङपाल टारसम्म पुग्दा थाङपाल टारका माधव पाण्डेले पालिकाका अध्यक्ष टासी लामालाई चन्द्रप्रसाद जिल्लाका मिहिनेती प्रतिभा हुन् भनेर परिचय गराएको सम्झनाले म भावुक छु ।
• खास गरी मलाई जिल्लाका राजनीति क्षेत्रका मानिसहरूले त्यति चिन्दैनन् । जिल्लाका सामान्यदेखि चर्चित नेताहरूसमेतलाई पटकपटक फोन गरेर भेट्नका लागि र उनकै जीवन सङ्घर्षका कथा र उनकै दलका बारेमा लेखिदिन समय मागेँ तर राज्य निर्माणको धुनमा लागेकाले हुनुपर्दछ उनीहरूले एक घन्टा पनि समय दिन भ्याएनन्/चाहेनन् । मेरा कर्मप्रति पत्यार लागेन या चासाे दिएनन् या मसँग चिनाजान नभएर पनि हुनसक्छ उनीहरूसँग घुलमिल हुने अवसर मिल्न सकेन यसैमा ठुलो वर्गअन्तर पाएँ । मैले जीवनमा केही गर्न सकेनछु भनेर निराश निराश पनि भएँ । सकभर वडाध्यक्षदेखि माननीय सांसद, माननीय मन्त्रीदेखि सम्माननीय सभामुखहरूसम्म सबै सबैलाई मैले फाेन गरेँ । सिन्धुपाल्चोकबाहेक अरू जिल्लाका नेता र लेखकहरूबिचकाे सम्बन्ध यस्तै हाेला कि फरक हाेला भन्ने पनि मनमा आइरह्याे ।
• केही समकालीन सहकर्मी शिक्षकहरूको मायाममता मेरानिम्ति लाख छ । अन्य क्षेत्रका महानुभावहरूले पनि मेरा कृतिकृतित्वप्रति सद्भाव प्रकट गरिरहेका छन् । म यसैमा सन्तुष्ट छु । मेलम्चीका राधाकृष्ण धर्मकृष्णहरूले मायाममता दर्साएका थिए । राधा सरले चन्द्र सर जिल्लाको इतिहासलेखन क्रममा मकहाँ पनि आइपुग्नुभयो भनी फेसबुकमा संयुक्त तस्बिर राखेर सम्मान दर्साएका थिए । ज्यामिरेका पाण्डव अधिकारीले फेसबुकको स्टाटसमा चन्द्र सर जिल्लाको इतिहासलेखन क्रममा गाउँगाउँमा डुलिरहनुभएको छ भनेर सूचनासमेत दिएका थिए । जुगल गाउँपालिकाको अध्ययनका क्रममा जुगल गाउँपालिकाको कार्यालयसम्म पुग्दा त्यहाँका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले गाँसको व्यवस्थासहित एक रात पालिकाको भवनमै सम्मानका साथ बास बस्न दिएका थिए ।
• पिपलडाँडाका पुण्यप्रसाद न्यौपाने, ठोकर्पाका शिवप्रसाद न्यौपानेलगायतका अग्रजहरूले मेरो कर्मप्रति प्रशंसा गरिरहे । पुण्य दाइले आवश्यक सल्लाह सुझाव पनि दिएका थिए । जिल्लाको इतिहास लेखनकै क्रममा बराम्चीका विष्णुप्रसाद घिमिरेका घरमा बास बस्न पुग्दा उनमा खुसीको सीमा नै थिएन ।
•सिपाघाट-भीमटार-सिपातीनधारा-ऐँसेलुखर्क-नवलपुर-कुन्चोक-झ्याँडी हुँदै लामो बाटो (करिब ३०-३२ किमि)पैदल यात्रा हिँडिसकेपछि प्रसङ्वश दिल कार्कीको सम्झना आयो र फोन गरेँ । उनले म हिँड्दै चौतारातिर आइरहेको सङ्केत बुझेछन् र झ्याँडीसम्म मोटरसाइकल लिएर लिन गए । उनको विवेक देखेर छक्क परेको छु ।
• सूचना लिन जाँदा कतिपय पालिकाबाट सूचना दिन नमानेको, अटेर गरेको देख्दा कर्मचारी संयन्त्र मात्रै होइन जनप्रतिनिधिहरूमा पनि जिल्लाको अभिलेखप्रति कुनै चासो नरहेको पाइयो । अहिले नेतृत्ववर्गदेखि सामान्य जनतासम्ममा कर्मभन्दा पैसा ठुलो र कसैलाई कसैको आवश्यकता नरहेको महसुस भयो । सबै आआफ्नै धुनमा भुलिसकेको, आत्मसम्पन्न भएजस्तो र सामाजिक मान्यता, मूल्य, मान मर्यादा र कर्मप्रतिको विश्वास हट्दै गएको, व्यक्तिवादी स्वार्थमै केन्द्रित, त्यसभन्दामाथि उठिहाले दलगत स्वार्थसम्म जेनतेन लागेको र राष्ट्रिय स्वार्थ लगभग शून्यतिर गइरहेको महसुस भयो । कतिपय पालिकादेखि जिल्ला समन्वय समिति, जिल्लाका जिम्मेवारी सरकारी अड्डाहरूका प्रोफाइलहरूसमेतमा हचुवाका तथ्याङ्क राखिएकाले वस्तुगत एवम् तथ्यगत इतिहासलेखनमा, तथ्याङ्क सङ्कलनमा निकै कठिनाइ भएको महसुस भयो ।
• मेरा ४० वर्षभन्दा लामो समयको लेखन अनुभवमा ”इतिहासमा सिन्धुपाल्चोक” लेखनसमय मेरा लागि निकै महत्त्वपूर्ण रह्यो । कठिनाइहरूसँग नजुधी सफलता प्राप्त गर्न झन् कठिनाइ छ, यही ज्ञान प्राप्त गरेँ । सिन्धुपाल्चोकका हिमालदेखि बेँसीसम्मका प्रायः गाउँहरू पैदल यात्रा गर्दा जुन आनन्दको अनुभूति पाएको छु त्यो नै जीवनले पाएको पुरस्कार जस्तो लागेको छ ।
★
जिल्लाकाे इतिहास लेखनक्रममा करिब १ हजारसँग प्रत्यक्ष भेटघाट र १ हजार जनभन्दा बढीसँग सञ्चारका विभिन्न माध्यमद्वारा कुराकानी गरेकाे अविस्मरणीय क्षणहरूलाई म बिर्सन सक्तिनँ ।