६ असोज, सिन्धुपाल्चोक । जिल्लाको विकट जुगल गाउँपालिका वडा -६ स्थित हाप्रा र बनकाली देवी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ ।
आइतबार सिन्धुपाल्चोक जिल्लाको १ नं निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा पुल उद्घाटन गरिएको हो । विकट हाप्रा र बनकाली जोड्ने पुल नहुँदा स्थानीले सास्ती बेहोर्दै आएका थिए । पुल बनेपछि आवत जावतका लागि सहज भएको स्थानीय अष्टराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पुल बनेसँगै उद्घाटन र स्थानीयसँग खुसी साट्न संघीय सांसद सापकोटा, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, बलेफि गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ हाप्रा पुगेका थिए ।
पुलका लागि पहल गरेका नेताहरु उद्घाटनमा आएपछि स्थानीयले खुसी साटासाट गरेका थिए ।
झोलुंगे पुल उद्घाटनमा नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाका इन्चार्ज जंग तामाङ, अध्यक्ष ईश्वर गुभाजुलगायतको उपस्थिति रहेको थियो ।