बाढी पहिरोले सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु ४ बेपत्ता

शनिबारदेखि परेको अविरल बर्षातका कारण सिन्धुपाल्चोकमा कम्तिमा ९ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् ।

१२ असोज, सिन्धुपाल्चोक । शनिबारदेखि परेको अविरल बर्षातका कारण सिन्धुपाल्चोकमा कम्तिमा ९ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोका कारण लिसंखुपाखर गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरीएर वडा नं ३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको छ । यस्तै लिसंखुपाखर वडा न ३ आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदॅा शिक्षिका तिर्सना मोक्तान र छोराछोरी गरी तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिकाको सिन्धु बीच रिसोर्टमा ४ को मृत्यु भएको छ । प्रहरीका अनुसार जुगल गाउँपालिका–१ कुने गाउँमा पहिरोले ३ वटा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । यसै बर्षातका कारण आएको बाढीले भोटेकोसी गाउँपालिका, लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाउँदा तातोपानी नाकासँग सम्पर्क बिच्छेद भएको छ ।
प्रहरीका अनुसार बन्देउदेखि सदरमुकाम चौतारा जाने २६ किलोमिटर सडकमा झण्डै २६ ठाउँमा पहिरो गएको छ । अर्चलेमा गएको पहिरोका कारण बलेफी–जलबीरे सडक अवरुद्ध भएको छ । यस्तै मेलम्ची–हेलम्बु र पाँचपोखरी जाने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया