१४ असोज सिन्धुपाल्चोक । बाढी पहिरोले जिल्लामा ठूलो क्षती पुर्याएपछि लण्डन भ्रमण रद्द गरेका क्षेत्र नं १ बाट निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
सांसद सापकोटा आईतबार विहानै इन्टरनेशनल ग्रोथ सेन्टरद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन लण्डन जाने तयारीमा थिए। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै असोज १४ र १५ गतेका लागि तय गरिएको उक्त भ्रमण र आफ्नो सम्बोधन कार्यक्रम रद्द गरेर गृह जिल्ला सिन्धुपाल्चोकमा बाढी, पहिरो प्रभावित जनताको उद्धार र राहत कार्यमा सघाउन गएको बताएका थिए । उनी सहितको संसदीय प्रतिनिधि मण्डल सोमाबार आज र मंगलबार लण्डनमा आयोजित सो कार्यक्रममा सहभागी हुने कार्यतालिका एक महिना अघि नै तय भएको थियो । उनले लण्डनमा माओवादी क्रान्ति र लैङ्गिक समावेशीकरणको प्रावधान विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । सांसद सापकोटाले अहिले आफ्नो उपस्थिति प्रभावित जनतासँग हुनु अनिवार्य ठानेको बताएका छन् ।
असोज ११ र १२ को मनसुनजन्य विपत्ति लगत्तै बन्द अरनिको लोकमार्ग खुलाउन भौतिक मन्त्रालय र सडक विभागसँग समन्वय गरेका उनले अबरुद्ध विद्युत र टेलिफोन सेवा खुलाउन पहल लिएका थिए । सोमबार अरनिको लोकमार्ग सञ्चालन, नाकामा अलपत्र सामग्रीहरुको समयमै निकासीलगायतका विषयमा नेपाल हिमालय सिमापार वाणिज्य संघको कार्यालयमा छलफल आयोजना गरेर उनले सबै श्रोत साधन परिचालन गरेर जति सक्दो चाँडो सडक सुचारु गर्नु पर्नेमा जोड दिएका थिए । छलफलमा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईलि तामाङ, तातोपानी भन्सार प्रमुख कमल भट्टराई, सडक डिभिजन भक्तपुर प्रमुख सुमन योगेश, दोलखा प्रमुख अमित श्रेष्ठ, हिमालय सिमापारका पदाधिकारी एवं सदस्यहरु, नेपाल ट्रक कन्टेनर ढुवानि संघ, उधोग बाणिज्य संघका माहासचिव एवं सदस्यहरु, सिल्क ट्रान्स्पोर्ट, आडो ट्रान्स्पोर्टलगायत व्यापारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
लगत्तै सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग छलफल गरेर सिन्धुपाल्चोकमा बाढी पहिरोले क्षती पुगेको सामग्री तत्काल पठाउन आग्रह गरेका थिए । घिसिङले सुनकोशी शाखाको माग बमोजिमका पोल र कालो तार तत्काल पठाउने प्रतिवद्दता व्यक्त गरेको सापकोटाको सचिवालयले जनाएको छ ।
संसदमा गायक दिप श्रेष्ठको हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि भन्ने गीतको अंश सुनाउँदै जिल्लाका सडकमार्गको अवस्थाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका सांसद सापकोटाले गत भदौ २३ र २४ गते संसदको पूर्वाधार विकास समितिमा रहेका सांसदहरुलाई अरनिको लोकमार्गको दयनिय अवस्था अवलोकन गराएका थिए।
असोज १२ को बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको छ भने अरनिको लोकमार्गमा पर्ने २ वटा पक्किपुल बगाएको छ । अन्य सहायक मार्गहरु पनि बन्द भएकोमा खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।