यसरी जोडियो तातोपानीसँग टुटेको सम्पर्क, फोटो फिचर

भोटोकोशी नदीमा आएको बाढीले लार्चाको बेलिब्रिज बगाएपछि सम्पूर्णरुपमा टुटेको तातोपानीसँगको सम्पर्क तुइन र फड्केमार्फत जोडिएको छ ।

१८ असोज, सिन्धुपाल्चोक । भोटोकोशी नदीमा आएको बाढीले लार्चाको बेलिब्रिज बगाएपछि सम्पूर्णरुपमा टुटेको तातोपानीसँगको सम्पर्क तुइन र फड्केमार्फत जोडिएको छ ।
लार्चास्थित मोटेरेबल पुल २०७४ साउन ८ गते सुख्खा पहिरोले भाँचिएर खोलामा खसेपछि सोहि बर्षको अन्त्यमा राखिएको बेलिब्रिज असोज १२ गतेका बाढीले बगाएपछि तत्कालीन फुल्पिङकट्टि र तातोपानीबिचको आवातजावत सम्पूर्ण रुपमा टुटेको थियो । लगत्तै सो क्षेत्रबाट निर्वाचित संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले सो क्षेत्रको स्थलगत अवलोकन गरी सम्बद्ध पक्षलाई तत्काल अस्थायी आवतजावतका लागि झकझकाएका थिए । भोटेकोशी गाउँपालिका वडा नं २ र स्थानीयको सक्रियतामा सुरुमा तुइन र त्यसपछि फड्के राखेर सम्पर्क सम्भव भएको हो । तुइन र फड्के निर्माणमा सुरक्षा निकायले समेत गरेको थियो ।
विहिबार संघीय सांसद सापकोटा, प्रदेश सभा सदस्य सरल सहयात्रीलगायतका स्थानीय नेताहरु सोहिमार्ग हुँदै लिपिङसम्म पुगेर स्थानीसँग छलफल गरे । सडक विभागका अधिकारीहरुसहित आएका जनप्रतिनिधिहरुलाई स्थानीयले स्यावासी दिँदै पुल निर्माणका लागि आग्रह गरेका थिए । जवाफमा जनप्रतिनिधिले तत्काल ह्युमपाइप राखेर अस्थायी बाटो सञ्चालन गर्ने, बेलिब्रिज र पक्कि पुलका लागि पहल लिने प्रतिवद्धता व्यक्त गरे ।
मानव आवतजावत सुरु भएपनि चीनसँगको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको लोकमार्ग अबरुद्ध भएपछि दशैं लक्षित सामग्री बोकेका सयौं कन्टेनर बाटोमै अलपत्र छन् ।

प्रतिक्रिया