१९ असोज, सिन्धुपाल्चोक । असोज १२ गतेको पहिरोबाट प्रभावित बनेका बलेफी २ अर्चलेका १६ र जुगल १ कुनेगाउँका ९ गरी २५ घर परिवारलाई राहत वितरण गरिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, चीनले उपलब्ध गराएको राहत सामग्री सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’लगायतका जनप्रतिनिधिले प्रभावित घरपरिवारलाई हस्तान्तरण गरेका हुन् । सांसद सापकोटाको समन्वयमा राहत सामग्री संकलन गरिएको हो ।
बलेफी २ को अर्चलेमा आयोजित कार्यक्रममा सापकोटाले प्रभावितलाई सो सामग्री वितरण गर्दै सांसद सापकोटाले सबै संयन्त्र प्रयोग गरेर पहिरो पन्छाउने प्रतिवद्द्ता व्यक्त गरे । बलेफी गाउँपालिका मार्फत पहिरोले क्षती भएको कृषि उत्पादनको क्षतिपूर्ति दिने तयारी भईरहेको उनले जानकारी दिए । उनले राहत सामग्री उपलब्ध गराउने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, चीनका संयोजक प्रदिप नेपाल र टोलीलाई धन्यवाद ज्ञापन दिए । कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, बलेफी २ का अध्यक्ष छबिलाल न्यौपाने, इलाका प्रहरी कार्यालय जलविरेका सुरक्षाकर्मी र स्थानीय बासिन्दाको उपस्थिति थियो । अर्चलेको पहिरोले दर्जनौ किसानको खेत बगरमा परिणत भएको छ ।
आजै जुगल गाउँपालिकाको वडा नम्बर -१ कुनेगाउँका पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । मृतक परिवारलाई भेटेर समवेदना, राहत सामग्री हस्तान्तरण गरेपछि सांसद सापकोटाले प्रभावित परिवारको रोजगारी र बस्ती संरक्षणमा सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे । कुनेगाउँमा असोज १२ गतेको पहिरोले २ घर बगाउँदा २ जनाको मृत्यु भएको थियो भने २ जना अझै बेपत्ता छन ।
तस्बिर : प्रज्वल नेपाल