२९ असोज, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले मिलेर विपपदको सामना गर्नु पर्नेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले जनप्रतिनिधि, राजनीतिक दल, प्रशासनिक संयन्त्र, नागरिक समाज एवं सम्बद्ध पक्षहरुलाई यस्तो आग्रह गरेका हुन् ।
सांसद सापकोटाले असोज ११ र १२ गतेको भीषण वर्षाले सिन्धुपाल्चोकलाई समेत ठूलो मानवीय र भौतिक क्षति बेहोर्न बाध्य बनाएपछि धुलिखेलदेखि अवरुद्ध भएको अरनिको लोकमार्गलाई पुनःसञ्चालन गर्दै विपद् स्थलसम्महरुसम्मको एकतर्फी मार्ग खोलेर खोज, उद्धार, राहत, अस्थायी बसोबास र शब व्यवस्थापनका लागि आफूले गरेको प्रयत्नले ठूलो महत्व राखेको बताउँदै बिग्रिएको बिजुली र टेलिफोन सेवा पुनः सुचारु गर्दा स्थानीय जनतामा ठूलो राहत मिलेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जार फेसबुकमा उनले भनेका छन्, ‘तत्कालिक काम सकेर अल्पकालिक कार्यका लागि समन्वय जारी छ । सडक विभाग र सरकारी संयन्त्रले नियमित काम अघि बढाइरहेको छ । तातोपानी देशकै महत्वपूर्ण नाका हो । यसको महत्व र गाम्भिर्यतालाई मनन् गर्नै पर्दछ ।’ उनले विपदका अति आवश्यक समयमा जनताबीच नदेखिएकाहरु केहि दिन यता तातोपानी क्षेत्रमा फोटो भिडियोसहित अस्वाभाविक स्टन्टबाजीमा देखिएको भन्दै विपद्को बेला भोटको राजनीति नगरी कर्तव्य पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
‘विपदका अति आवश्यक समयमा जनताबीच नदेखिएकाहरु केहि दिन यता तातोपानी क्षेत्रमा फोटो भिडियोसहित अस्वाभाविक स्टन्टबाजीमा देखिएका छन् । हाम्रो आग्रह छ, विपद्को बेला भोटको राजनीति नगरौं, यसले पीडितहरुलाई थप पीडा दिने छ । इमानदारहरुको परिक्षा कर्तव्य पालनामा हुन्छ । सबैले कर्तव्य पालना गरौं । जनप्रतिनिधि, राजनीतिक दल, प्रशासनिक संयन्त्र, नागरिक समाज एवं सम्बद्ध पक्षहरु एकतावद्ध भएर विपदको सामना गरौं । सहजता सृजना गरौं’, सापकोटाले भनेका छन् ।