भोटेकोशीका बाढी पहिरो प्रभावितलाई गैर आवासीय नेपाली संघको सहयोग

गैर आवासीय नेपाली संघले गत असोज दोस्रो साताको बाढी पहिरोबाट प्रभावित भोटेकोशीका २३ घरपरिवारलाई राहत सहयोग गरेको छ ।

६ कार्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघले गत असोज दोस्रो साताको बाढी पहिरोबाट प्रभावित भोटेकोशीका २३ घरपरिवारलाई राहत सहयोग गरेको छ । संघले भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ का प्रभावितहरुलाई केन्द्रीय कार्यालय बालुवाटारबाट राहत सामग्री वितरण गरेको हो ।

असोज ११ र १२ गतेको बाढीबाट प्रभावित उनीहरुका लागि तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइदिन सिन्धुपाल्चोक १ बाट निर्वाचित संघीय सांसद माधव सापकोटाको आग्रहमा खाध्य सामग्री, टेन्ट र कपडा गरी २२ किसिमका सामग्री दिइएको संघका अध्यक्ष डा बद्री केसीले जानकारी दिए । कार्यालयमा उपस्थित प्रभावितहरुलाई सांसद सापकोटा, बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, संघका अध्यक्ष डा केसी, उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप–संयोजक अमेरिकाज पूर्णचन्द्र बानिँया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह–कोषध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र, माओवादीका बागमती प्रदेश सदस्य टोपनाथ सापकोटालगायतले सामग्री हस्तान्तरण गरे ।

संघले प्रभावितलाई दिएको सामग्रीहरुमा चामल, दाल, तेल, नुन, चिनि, चना, चिउरा दालमोठसहितका खाध्य सामग्री रहेका छन् । यसैगरी त्रिपाल, फर्म, ब्ल्यांकेट, स्यानीटरी प्याड, कोकोनट तेल, पियुस, जीवनजल, डिटोल साबुनजलायतका गैर खाध्य सामग्री रहेका छन् ।

प्रतिक्रिया