८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रमाण हुँदा हुँदै पनि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेश पोखरेललाई सरकारले संरक्षण गरेको बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले आफ्नालाई बचाएर बाँकीलाई अनुसन्धानमा तान्ने प्रयास गरेको बताएका हुन् ।
‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतकाहरूलाई प्रमाण हुँदा हुँदै खुला रुपमा संरक्षण गरिएको छ’ सापकोटाले भने ।
उनले सत्तारुढ दलका नेताहरूको नामै लिएर उनीहरुमाथि अनुसन्धान नभएको आरोप लगाए । ‘अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानी छानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्नै नेताहरूलाई जोगाइरहेको छ’ सापकोटाले भने ।
पत्रकारहरुले सापकोटासँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषयमा पार्टीको धारणा मागेका थिए । जवाफमा उनले सरकारले दोहोरो मापदण्ड अपनाउन नहुने बताए ।
‘अदालती प्रक्रियामा गएको छ । उहाँहरुकै कार्यकर्ताले नारा लगाउनुभएको छ । हामीले के गरेका छौं त ? हामीले दोहोरो मापदण्ड अपनाउन हुँदैन, पक्षपात गर्न हुँदैन भनेका मात्रै छौं’ सापकोटाले भने । माओवादी केन्द्रले यही कातिक १० गते हुने प्रदर्शन गर्दैछ ।
यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो । सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको प्रदर्शन गर्न लागेको हो ।
विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनस्र्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उनले बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको सुनाए ।
सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि प्रदर्शन गर्न लागिएको हो ।
संविधान र लोकतन्त्रको रक्षा गर्न, दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ ।
उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताए ।