१२ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तरगत आइतबार साँझ सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सातौँ दक्षिण एसियाली च्याम्पियनसिप (साफ) को फाइनल प्रवेश गरेको छ । नेपालले बुधबार उपाधिका लागि बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै बंगलादेशले फाइनलमा पुगिसकेको छ ।
आइतबार दशरथ रंगशालामा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटबाट भएको हो । टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गरेका थिए । भारतबाट मनीषा र पुरुषोत्तम सिर्भोइकरले गोल गरे । कप्तान असलताको प्रहारलाई नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकिन् । अञ्जनाले चानु सोरोखैबामको प्रहारलाई पनि रोक्न सफल भइन । नेपालकी अमिषा कार्कीले सहजै गोल गर्दै नेपाललाई लगातार दोस्रोपटक फाइनलमा पुर्याइन् । नेपाल लगातार पाँच संस्करणमा भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो । दुई वर्षअघि दशरथ रंगशालामै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको गोलमा भारतलाई पहिलोपटक हराएको थियो ।
खेलमा लामो विवाद
आइतबार दशरथ रंगशालामा खेलको ७२औँ मिनेटमा भारतका लागि संगीता बास्फोरेले गोल गरेर अग्रता दिलाइन । भारतीय खेलाडीले आफ्नो साइडमा सेलिब्रेसन गरिरहँदा रेफ्री भुटानी ओम चोकीले नेपाललाई बल चलाउन संकेत गरिन । सावित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले पोस्टभन्दा ३५ यार्डबाट गोल गर्दैै नेपाललाई १–१ को बराबरीमा पुर्याइन् । नेपालले बराबरी गोल फर्काएपछि खेलाडीले खुसीयाली मनाए । तर, भारतीय खेलाडीले प्रीतिको गोल अस्वीकार गरेका थिए । रेफ्री ओम चोकीले पनि आफ्नो निर्णय फिर्ता लिइन् । जुन विश्व फुटबलका लागि नौलो थियो । त्यसपछि खेलमा तनाव सुरु भयो । ७१औँ मिनेटदेखि १३९ मिनेटसम्म खेल अवरुद्ध भयो । एक घण्टा पाँच मिनेटपछि खेल सुचारु भयो । खेल सुरु भएलगत्तै सावित्राले प्रीतिको थ्रो पासमा भारतीय गोलकिपर र अर्का खेलाडीलाई झुक्याएर गोल गरिन् । साँझ ६ ३० बजे सुरु भएको खेल राति ९ ४५ बजे सम्म चलेको थियो ।
खेलमैदानमा पानी र कोकको बोतल
खेलको ५२औँ मिनेटमा रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भएको थियो । रेखाले रातो कार्ड पाउँदा दर्शकले बोतल प्रहार गरेका थिए । रेफ्रीलाई नै बोतल लागेपछि खेल १५ मिनेट रोकिएको थियो । आयोजनाको जिम्मेवार पाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैदानमा न्यून सुरक्षाकर्मी राख्दा दर्शकले भुटानी रेफ्रीलाई बोतल प्रहार गरेका थिए । भारतीय प्लेयर बक्समा पनि बोतल फालिएको थियो । रेखाको गल्ती नभएको भन्दै नेपाली समर्थकले विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन् । रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकले मैदानमा बोतल फालेका थिए । दर्शकले खचाखच रंगशालामा प्रहरीलाई व्यवस्थापनमा हम्मे हम्मे परेको थियो ।