‘बादशाहलाई राजसिंहासनबाट खसालेको गणतन्त्र ल्याउने योध्दाहरु ज्यूदै छन्’ : सरल सहयात्री

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बादशाहलाई राजसिंहासनबाट खसालेको गणतन्त्र ल्याउने योध्दाहरु ज्यूदै छन् भनिएको स्पष्ट गरेका छन् ।

१२ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बादशाहलाई राजसिंहासनबाट खसालेको गणतन्त्र ल्याउने योध्दाहरु ज्यूदै छन् भनिएको स्पष्ट गरेका छन् । सहयात्रीले प्रधानमन्त्रीका हैसियतमा ज्यादति नहोस भनेर खबरदारी गरिएको पनि स्पष्ट गरेका छन् ।
माओवादीले कात्तिक १० गते काठमाडौंको भृकुटीमण्डपमा गरेको खबरदारी सभाबारे प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गरेको टिप्पणीको सोमबार सामाजिक सञ्जाल फेसबुकमा जवाफ दिँदै उनले ओलीलाई सुधार्नु र सचेत गराउनुको कुनै ख्वाब नभएको बताएका छन् । खबरदारी सभाको सञ्चालक रहेका उनले जनयुद्धका हतियार बिसाइएको प्रसंग राखेका थिए । ओलीको टिप्पणी आएपछि सो विषयमा बोलिएको ४ मिनेट ४३ सेकेण्डको भिडियो सामग्री सहित लेखिएको ‘स्टाटस’मा सहयात्रीले कडा प्रतिवाद गर्दै भनेका छन ‘१० बर्ष लगातार बादशाहलाई राजसिंहासनबाट खसालेको गणतन्त्र ल्याउने योध्दाहरु ज्यूदै छन् भनिएको हो, तपाई गणतन्त्र र लोकतन्त्रको अपमान गर्नेगरी भ्रष्टाचार को मतियार नहुनुस यसैको खबरदारी हो ।’
सहयात्रीको स्टाटस

‘प्रधानमन्त्री ज्यू, तपाई प्रधानमन्त्रीका हैसियतमा ज्यादति नगर्नुहोस भनेर खबरदारी गरिएको हो । अन्यथा तपाईलाई सुधार्नु र सचेत गराउनुको हामीलाई कुनै ख्वाब छैन । तर तपाई यतिबिधि पनि आफुलाई ‘सुपरम्यान’ नठान्नुस कि तपाईका गैर जिम्मेवार ज्यादतिका बिरुध्द उठ्ने सबै बिद्रोह थेग्ने हैसियत तपाईसंग छ । देशमा फेरीपनि बन्दुक उठाउने परिबेश आउन नदिन माओवादी निकै नै प्रतिबध्द छ तर हामी तपाई जत्तिको कायरपनि छैनौं । जसले उत्तेजनामा आएर बिद्रोहको आव्हान गर्यो र सुतिरहेको बच्चाको घाँटी काटेर योजनाबध्द आत्मसमर्पण गरेर जेल बस्यो । जेलबाट निस्कनका लागि आफैंले शुरु गरेको बिद्रोहलाई उग्रबामपन्थको उपमा दिएर सुखानी लगायतका शहीदहरुको अपमान गर्यो । तपाईले आत्मसमर्पण गरेको बादशाहका सयौं बर्ष पुरानो हतियारधारीहरुसंग १० बर्ष लगातार बादशाहलाई राजसिंहासनबाट खसालेको गणतन्त्र ल्याउने योध्दाहरु ज्यूदै छन् भनिएको हो । तपाई गणतन्त्र र लोकतन्त्रको अपमान गर्नेगरी भ्रष्टाचार को मतियार नहुनुस यसैको खबरदारी हो ।’

प्रतिक्रिया