१९ कात्तिक, सिन्धुपाल्चोक । जिल्लाका बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले बाढी पीडितको नाममा विधि मिचेर राजनीतिक दलललाई नगद दिएको खुलासा भएको छ । कांग्रेसका तर्फबाट पालिका जितेका तीनवटा तहले पीडितका नाममा पार्टीलाई रकम दिएको पाइएको हो । यो घटनापछि तीनवटै स्थानीय तहलाई कानूनी र नैतिक संकट परेको छ ।
कार्तिक १३ गते ललितपुरको गोदावरीस्थित वेलकम पार्टी प्यालेसमा एक कार्यक्रम गरी बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनही २५ हजारका दरले ११ लाख ५० हजार नगद वितरण गरेका थिए । ‘सुखदुखमा कांग्रेस सहयात्राको सन्देश’ नारा दिएर देउवाले वितरण गरेको सो रकम सिन्धुपाल्चोकका तीन पालिका बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले दिएको ब्यानरमा उल्लेख छ । कांग्रेसले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तमध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको र सो रकम पार्टीकातर्फबाट बाँडिएको प्रचार गरिएको छ ।
सिन्धुपाल्चोकका तीन पालिकाको नाम ब्यानरमा लेखिएको भएपनि कुन पालिकाले कति दियो रकम सहयोग गरेको हो भनेर कतै उल्लेख गरिएको छैन । पालिकाहरुले दिएको पैसालाई पार्टीले दिएको भनेर वितरण गरिएको हो । विपदको बेलामा स्थानीय तहहरुले छिमेक वा अन्य पालिकालाई सहयोग रकम चेकमार्फत हस्तान्तरण गर्ने वा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने चलन छ । सिन्धुका कांग्रेसले जितेका तीन पालिकाले नगद निकालेर पार्टिलाई हस्तान्तरण गरेको पाइएको हो ।
यसरी स्थानीय तहले दिएको रकम पारदर्शीता र सार्वजनिक लेखा परिक्षणमा समेत समस्या देखिने अबस्था आउनु गम्भी लापरबाही र त्रुटी भएको स्थानीय तह शासन सञ्चालन विज्ञहरुको भनाई छ । लामो समय स्थानीय तहमा काम गरेर हाल मन्त्रालयमा कार्यरत एक सहसचिवले स्थानीय सरकारको नाममा रहेको रकम कार्यपालिकाको निर्णयबाट दिन सहयोग दिन सकिने भएपनि नगद लगेर कुनै पार्टी विशेषलाई दिनु भ्रष्टाचारजन्य कार्य भएको बताए ।
‘पालिकाले पालिकालाई सहयोग गरेको भए अलग हुन्थ्यो, पालिका आफैंले वितरण गरेर त्यसको जानकारी राखिएको भएपनि मिल्थ्यो तर पालिकाको पैसा दलले बाँडेको खबर सार्वजनिक हुनु शक्तिको आडमा स्रोतको चरम दुरुपयोग हो’ उनले भने । बाढी पहिरोमा परिवारका सदस्यलाई सहयोग गर्ने पवित्र कार्यमा पालिकाको पैसा लगेर दल विशेषको नाममा बाँडिनु सरासर गलत भएको उनले स्पष्ट गरे । यसरी गरिएका खर्च बेरुजुमा पर्ने गरेको छ । सहयोगीको सूचिमा रहेका तीन पालिका मध्ये भोटेकोशी नेपाल सरकार मन्त्रिपरिषदद्वारा विपदग्रस्त क्षेत्र घोषित पालिका हो ।