

२६ कार्तिक, काठमाडौं। संघीय संसदमा प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। आज बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दिएका छन्।
उपाध्यक्ष सापकोटाका अनुसार पार्टीले मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा गर्ने निर्णय गरेको छ। मंसिर मसान्तसम्म पालिका स्तरमा सम्मेलन र खबरदारी सभा एकैसाथ सम्पन्न गरिने योजना माओवादीको छ । अभियानले सरकारका अनियमितता र बेथितिहरूविरुद्ध आवाज उठाउन तथा जनसचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा माओवादीको छ। यसैगरी माओवादीले मंसिर १६ मा हुने उपनिर्वाचनका लागि आवश्यक तयारीका साथ जाने निर्णय गरिएको छ। माओवादीले उपनिर्वाचनमा सफलता प्राप्त गर्न पूर्ण तयारीसाथ चुनावी मैदानमा जाने निर्णय गरेको हो ।
सरकारले कुशल र जिम्मेवार व्यक्तिहरूलाई हटाउँदै असामान्य परिस्थिति सिर्जना गरिरहेको जनाउँदै माओवादीले सो कार्यको आलोचना गरेको छ। साथै, कांग्रेस र एमालेले संविधान संशोधनको प्रतिबद्धता जनाएर सत्तामा पुगेको भए पनि हालसम्म यो विषय बेवास्ता गरिएको सो पार्टीले उल्लेख गरेको छ। माओवादी केन्द्रले संविधान संशोधनलाई अग्रगमन र परिवर्तनको पक्षमा गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
सो पार्टीले प्रत्यक्ष कार्यकारीको चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिनुपर्ने प्रस्ताव पनि अघि सारेको छ। सो प्रणालीले देशमा विकृति, विसंगति, र राजनीतिक अस्थिरता अन्त्य गर्न मद्दत पुर्याउने माओवादीको धारणा सार्वजनिक भएको हो ।

