जुगल हिमाललाई विश्वसामु उजागर गर्दै मिलन तामाङ

आफ्नो गाउँको हिमाललाई विश्वसामु चिनाउने लक्ष्यमा रहेका मिलनको प्रयास जुगल हिमाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोगी सावित भएको छ ।

२७ कार्तिक, सिन्धुपाल्चोक। जुगल हिमालको काखमा अवस्थित दुर्गम गाउँ हगाममा जन्मिएका मिलन तामाङ त्यहि हिमाललाई विश्वासामु उजागर गर्न लागिपरेका छन् । आफ्नो गाउँ नजिक उभिएको जुगल हिमालको चुचुरोमा पुग्ने र हिमालसँग आत्मीय गाँस्ने उनको बाल्यकालदेखि कै चाहना थियो तर त्यो असम्भव जस्तै थियो । काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको आधार शिविर नजिकसम्म त चौंरी गोठ त थिए तर हिमाल आरोहणको अनुमति थिएन । हिमाल हेरेर आनन्द लिनु बाहेक विकल्प थिएन ।

हिमालबारे अनेकन सपना बोकेका मिलनलाई उनले आस्था राख्ने राजनीतिक दलका नेताहरूले हिमाल आरोहण खुलाउन गरेको प्रयत्नले उत्साहित बनायो । हिमाल आरोहणका लागि खुला गरिएपछि सगरमाथा आरोही माया गुरुङ, मिलनलगायतको पहिलो आरोहण दल बन्यो । हाल सो क्षेत्रबाट संघीय सांसद रहेका माधव सापकोटा सुबोध र पूर्व सांसद सुवास कर्माचार्य पनि आरोहण दलमा सहभागी बने । उनीहरुको पहिलो प्रयासले सार्थकता पायो ।

२०७५ चैत २६ गते जुगल हिमशृङ्खलामा पर्ने छ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिकको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलनले सफल आरोहण गरे । यो महत्वाकांक्षी अभियानको प्राबिधिक टोलीको नेतृत्व गाइड तुल्सिङ गुरुङले गरेका थिए । बागमती प्रदेश र जुगल गाउँपालिकाको संयुक्त आयोजनामा आयोजित पहिलो प्रयास मै सफलता मिलेपछि जुगल हिमालको चुचुरोमा आरोहणको मार्ग खुलाउन लागिपरेका सबै जनाको हर्षको सीमा रहेन। देश विदेशका हिमाल प्रेमीहरुलाई हिमाल आरोहणका लागि आमन्त्रण गरियो, जसले जुगललाई पर्यटनको नयाँ केन्द्रको रूपमा चिनाउन सहयोग पुर्यायो। गतिविधिहरु जारी रहे । सफल आरोहणपछि प्रचारप्रसार र पुर्वाधारको काममा निरन्तरको परिणाम स्वरुप यतिखेर जुगल नेपालको पर्यटन उद्योगमा एक आकर्षक गन्तव्यको रुपमा बिकास भएको छ । अहिले जुगल आरोहणका लागि एक सिजनमा ६/७ समूह पुग्ने गरेको छ । पर्यटकको आगमनसँगै सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने तेम्बाथाङ, दिप्पु, तेगा, क्याङ्सिङ र गुम्बालगायतका स्थानीयहरुले राम्रै आम्दानी गर्न थालेका छन् ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा कोरीया र नेपाली आरोहीले गत बर्ष मात्र आरोहणका लागी खुला गरिएको ‘जुगल १’ को २०८१ वैशाखको तेस्रो साता सफल आरोहण गरे । सो अवसरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आरोहीहरुलाई शुभकामना दिएका थिए । संघीय सांसद माधव सापकोटा ‘सुबोध’ र बागमती प्रदेश सभा सदस्य एवं सगरमाथा आरोही सरल सहयात्रीले बेसक्याम्पमै पुगेर आरोहण टोलीलाई शुभकामना दिए । यहि समयमा ब्रीटिश हिमाल आरोहीहरुले जुगल हिमाल क्षेत्रमा पहिलोचोटि स्किको परिक्षण समेत गरेका थिए । यी दुबै कार्यक्रममा मिलनले समन्वय गरेका थिए ।

यसबीचका जुगल हिमाल क्षेत्रका सबै कार्यक्रममा सक्रिय भूमिका निभाउँदै आएका मिलनले आफूले देखेको, बुझेको र अनुभव गरेको जुगल हिमाललाई विश्वभर चिनाउने योजना बनाए। उनलाई स्थानीय सरकार र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले हौसला दिइरहे । फलस्वरुप मिलनले जुगल हिमालको सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्व, र यसले सामना गरिरहेका चुनौतीहरूलाई समेटेर पुस्तक तयार गरेका छन् ‘जुगल हिमाल’। अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकमा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण देखा परिरहेका असरहरू र स्थानीय बासिन्दाको हिमालसँगको आत्मीय सम्बन्धलाई समेटिएको छ। यसले पर्यटन प्रवर्द्धनको सम्भावनालाई पनि उजागर गर्न मद्दत पुर्याएको छ। पुस्तकमा समेटिएका मार्गदर्शन र नक्साले इच्छुक पर्यटकहरूलाई आवश्यक जानकारी पनि प्रदान गर्ने विश्वास गरिएको छ। पुस्तकले मिलनको परिचय थपिदिएको छ, आरोहि, अभियन्ता, सजक राजनीतिक कार्यकर्ताहुँदै उनी लेखक बनेका छन् ।

‘जुगल हिमाल’ पुस्तक यहि २०२४ नोभेम्बर को २३ मा बेलायतमा आयोजना हुने एक प्रतिष्ठित महोत्सव ‘केन्डल माउन्टेन फेस्टिभल’मा विमोचनको तयारीमा छ। यो फेस्टिभलमा लेखक मिलनले आफ्ना अनुभवहरू बाड्नेछन् र सहभागीहरूका जिज्ञासाहरूको उत्तर दिनेछन् र जुगल आरोहणका लागी निमन्त्रणा गर्नेछन् ।

मिलनको अर्को खुसी पनि थपिएको छ, पुस्तकले आगामी २०२५ मा क्यानाडामा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित ‘बान्फ माउन्टेन बुक फेस्टिभल’मा पनि सहभागी हुने मौका पाएको छ । मिलनले प्रचार प्रसारका लागि अमेरिका,  दक्षिण कोरियालगायत अन्य राष्ट्रहरुमासमेत जाने योजना रहेको जानकारी दिए । आफ्नो गाउँको हिमाललाई विश्वसामु चिनाउने लक्ष्यमा रहेका मिलनको प्रयास जुगल हिमाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोगी सावित भएको छ । आफ्नो किताब जुगल हिमाल लेखनबारे मिलनले भने ‘ लेखन एकजनाको प्रयासले मात्रै सम्भव थिएन, अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका सबैप्रति आभारी छु ।’ 

प्रतिक्रिया