३० कात्तिक, सिन्धुपाल्चोक । जिल्लाको चर्चित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल गौराती मन्दिर परिसरमा हजारौं भक्तजनले मेलामा सहभागिता जनाएका छन्।
जिल्लाको सबैभन्दा ठूलो मेलाका रूपमा लिइने गौराती भीमेश्वरको मेलामा बिहानैदेखि चहलपहल देखिएको छ। सिन्धुपाल्चोकका विभिन्न स्थानहरू र छिमेकी जिल्लाहरूबाट समेत भक्तजनहरू गौराती पुग्ने गर्छन्। गौरातीमा प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट सुरु भएर तीन दिनसम्म चल्ने मेलामा ठूलो संख्यामा सहभागीहरू आउने गर्छन्।
चौतारा साँगाचोकगढी नगरपालिकाले मेलाको महत्त्वलाई मध्यनजर गर्दै आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सदरमुकाम चौताराबाट करिब चार किलोमिटर उत्तर-पश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित समुद्री सतहबाट १८२८ मिटरको उचाइमा गौराती डाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न सहज पहुँच छ । गौराती मन्दिरलाई विशेषरूपमा सजाइएको छ।
मेलाको व्यवस्थापन गौराती भिमसेन युथ क्लबले गरेको छ भने पूजा गौराती भिमसेन गुठीले गर्दै आएको छ। गौराती भिमसेन युथ क्लबका अध्यक्ष वाङ्गेल लामाका अनुसार गौराती टोलको मुख्य सडकदेखि मन्दिरसम्म ध्वजापतका लगाउने, झिलिमिलि बत्ती सजाउने, मन्दिर सरसफाइ गर्ने, राती बत्ती बाल्ने, तथा दर्शनार्थीको सहजताका लागि मन्दिर वरिपरि बिजुली बत्ती व्यवस्थापन गरिएको छ। आजको जात्रामा गायक सुगम पोखरेलसहित चन्द्र सिं तमु, रश्मि बोम्जन, संजीव पुडासैनी र प्रदीप रोक्कालगायतका कलाकारले प्रस्तुति दिने कार्यक्रम छ।
मेलामा शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। मदिरा बिक्रीमा समेत कडाइ गरिएको छ, स्थानीय क्लबसँगको समन्वयमा मदिरा वितरणमा निगरानी राखिएको छ। मेलामा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको र रिजर्भ टोलीलाई तयारी हालतमा राखिएको प्रहरीले जनाएको छ।
मेलाको अवसरमा चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा राखी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराउने परम्परा रहेको छ, जसलाई एकादशीको दिन पुनः फर्काइन्छ। गुठीयारहरूको घरघरमा पनि पूजाको परम्परा रहेको छ। यसपछि सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिन्छ। गौराती भीमेश्वर मेलाको अवसरमा सरकारी पूजा गरिने परम्परा पनि छ।
किम्बदन्ती अनुसार, यस स्थानमा पहिले गोठालाहरूले गाईलाई चराउने गर्थे। गोठालाहरूले राति एउटा ढिस्कोमा गाईले दूध चढाउने गरेको देखेपछि उक्त स्थानलाई खनेर हेर्दा रगत देखियो र मूर्ति फेला परेपछि पूजाआजा सुरु गरियो। “गौ” को अर्थ गाई भएको कारण यस स्थानको नाम गौराती रहन गएको हो। ऐतिहासिक रूपमा, वि.सं. १६४२ मा दलबहादुर कुँवरले मन्दिरमा घण्ट चढाएपछि ४ सय ३४ वर्षदेखिको पूजाआजा गरिँदै आएको प्रमाण भेटिन्छ।
मेला अवधिभर हजारौँ पशु तथा पंक्षीहरूको बलि दिने परम्परा पनि रहेको छ। मन्दिरलाई समय समयमा जिर्णोद्धार गर्दै आए पनि वि.सं. २०५३ सालमा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ अनावरण गरिएको थियो। त्यतिबेला जोडी रुद्राक्षको विरुवा पनि रोपिएको थियो, जसमा अहिले फल आउन थालेको छ।
धन्यवाद : सुरेश कसजु, प्रभात श्रेष्ठ र दिपक खत्री