३० कार्तिक, बलेफी। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले आफ्नै नयाँ प्रशासनिक भवनबाट सेवा दिने तयारी गरेको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपनि बर्षातका कारण बलेफी बजारस्थित वडा नं ५ कै भवनबाट सेवा दिएको गाउँपालिकाले अब भने नयाँ भवनबाट सेवा सुरुचारु गर्ने थालेको हो ।
सुरुमा २०८१ साल वैशाखदेखि नै नयाँ भवनबाट सेवा सुचारु गर्ने गरी तयारी भएपनि फर्निचर, खानेपानीको व्यवस्था, नयाँ भवनसम्म जाने बाटोको स्तरोन्नति लगायतका कारण केही ढीला भएको गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले जानकारी दिए । गाउँपालिकाको बलेफी बजारदेखि केहि माथि वडा नं ५ को बागले गाउँमा निर्माण सम्पन्न अत्याधुनिक प्रशासनिक भवनमा सामान सार्ने काम धमाधम भइरहेको अध्यक्ष तामाङको भनाई छ । ‘भवनको काम सकियो, जनप्रतिनिधि, कर्मचारी बस्ने कक्षहरुको सजावटको काम पनि सकियो, छिट्टै नयाँ भवनबाट सेवा सुचारु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं’ अध्यक्ष तामाङले भने ।
गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनमा २४ वटा कोठा र एउटा हल रहेको छ । कम्पाउण्डभित्र ६ वटा कोठा र एउटा भान्छा सहितको आवास भवन समेत बनाइएको छ । प्रशासनिक भवन परिसर भित्रै क्यान्टिन ब्लक र सेवाग्राहिका लागि सुविधासहितको प्रतिक्षालय पनि बनाइएको गाउँपालिका अध्यक्षको सचिवालयका नारायण पराजुलीले जानकारी दिए । गाउँपालिकाको प्रशासनिक भवन चार रोपनी क्षेत्रफलमा फैलिएको छ । पालिकाका प्राविधिक सन्तोष सापकोटाका अनुसार मुख्य भवन नजिकै कर्मचारी आवास भवन पनि छ ।
भवन निर्माण गर्न सुरुको लागत अनुमान १० करोड रहेकोमा निर्माण कम्पनीले ५ करोड ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । गाउँ पालिका भवन निर्माणको काम अघिल्लो कार्यकाल मै सुरु भएर पनि घेराबार लगाइएको स्थानमा पहिरो गएका कारण निर्माण सम्पन्न हुन ढिलाई भएको पालिकाले जनाएको छ । गाउँ पालिकाले हाल बलेफी बजारमा भाडाको भवनबाट र कपिलेश्वर मन्दिर नजिक निर्मित वडा नं ५ को कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।
पालिका भित्रका वडा नं १ मा पर्ने जलविरे, २ को फुल्पिङ्कोट, नौविसे, ३ को धुस्कोट, ४ को मेलडाँडा गहते, ५ को बलेफी बिन्जेल, खाडीचौर, लामोसाँघुलगायतका मुख्य बस्ती र १ सय ५० हाराहारीमा ग्रामीणबस्तीहरु रहेको बलेफी गाउँपालिकाले पालिका भित्रका सबै सेवाग्राहीका लागि केन्द्र भाग पर्ने गरी बलेफी बजार नजिकै नयाँ भवन बनाउने निर्णय गरेको थियो ।
ब्रम्हायणी र भोटेकोशी नदीको संगमस्थलमा रहेको बलेफी बजार जुगल हिमालको प्रवेशद्वार समेत हो । ‘बलेफी जलविरे तेम्बाथान सहायक राष्ट्रिय’ राजमार्ग बलेफी बजारबाट सुरु हुन्छ । यहि बाटो भएर काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल, जुगल हिमाल पुगिन्छ । बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो । यस गाउँपालिको कुल क्षेत्रफल ६१।६० वर्ग कि.मी. रहेको छ ।