१ मंसिर, काठमाडौं । शैक्षिक चेतनामूलक चलचित्र कालोपाटी अब युट्युबमा हेर्न पाइने भएको छ । आवाज आर्ट क्रिएशन प्रा.लिले निर्माण गरेको शैक्षिक चलचित्र कालोपाटी निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिएको हो । हरेक मानिसहरुमा फरक- फरक क्षमता, रुचि, चाहना हुने भएकोले त्यसलाई बुझ्नु पर्ने चलचित्रको सन्देश छ । विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुमा हुने फरक-फरक क्षमतालाई ख्याल गर्न चलचित्रले सुझाउँछ ।
कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् , कोही साहित्य, गित संगितमा त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण क्रियाकलापमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको , अभिभावकले आफना बालबालिकाहरुलाई पढेन मात्रै भन्ने तर त्यसको कारण खोजी नगर्ने बानीले धेरै बालबालिकाहरु मानसिक समस्याबाट गुज्रनु परेको विषय चलचित्रले उजागर गरेको छ ।
विद्यार्थीहरुमा आफू अभिभावको लागि मात्रै पढेको छु , हाम्रो चाहाना रुचिसंग कोही मतलब राख्दैनन् भन्ने चिन्तामा छन । धेरै विद्यालयहरुमा आज पनि पुरानो शैलीले शिक्षण भैरहेका छन । जसमा विद्यार्थीहरुको रुचि नरहेको कुरालाई नकार्न सकिदैन । विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका शिक्षकहरु विच ठूलो खाडल छ । जसलाई पुर्न सकिएन भने त्यसले झन ठूलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन भन्ने चलचित्रको सन्देश हो ।
चलचित्रका परिकल्पनाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याट्ट) चलचित्रले शिक्षाका क्षेत्रमा सुधार औल्याएको बताउँछन् । समुदाय र विद्यालयहरुमा चलचित्र प्रदर्शनिले शिक्षक, अभिभावक, विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको छ ।
सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा केही समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ । चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल,जनक घिमिरे प्रज्ञान वजगाँई नवराज गजुरेल ,रोहित कार्की ,गिता थापालगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिपक घिमिरेले गरेका हुन । यो चलचित्र एक घण्टा ३ मिनेटको छ ।