न्यूजील्याण्डकी २२ वर्षीया सांसद हाना ‘हाका’ नृत्यले चर्चामा

न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी-क्लार्क संसदमा आदिवासी सन्धि विधेयक च्यात्दै गरेको शैलीका कारण विश्वभर चर्चामा छिन्।

२ मंसिर, एजेन्सी । न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी-क्लार्क संसदमा आदिवासी सन्धि विधेयक च्यात्दै गरेको शैलीका कारण विश्वभर चर्चामा छिन्। संसदभित्रको उनको यो कार्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, र भिडियो भाइरल भएको छ। बिहीबार न्यूजील्याण्डको संसदमा आदिवासी सन्धि सम्बन्धी विधेयकमा मतदान हुँदै गर्दा, देशकै कान्छी सांसद हाना रावहिती मापी-क्लार्कले आफ्नो धारणा व्यक्त गर्दै विधेयकको प्रति च्यातिन्। त्यसपछि उनले माओरी समुदायको परम्परागत हाका नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यस कार्यलाई समर्थन गर्दै संसदका अन्य सदस्यहरू र ग्यालरीमा रहेका दर्शकहरूले पनि हाका नृत्यमा भाग लिए। यस परिस्थितिले सभामुख गेरी ब्राउनलीलाई केही समयका लागि सत्र स्थगित गर्न बाध्य बनायो।

१८४० को वैतांगी सन्धिका सिद्धान्तहरूमा आधारित उक्त विधेयकले माओरी समुदायका लागि अधिकारको संरक्षण गर्न सरकार र माओरी समुदायबीचको सम्बन्धलाई मार्गदर्शन गर्ने प्रावधान राखेको छ। विधेयकले यी अधिकारहरू सबै न्यूजील्याण्डका नागरिकमा समान रूपमा लागू गर्नुपर्ने प्रावधान गरेको छ। तर, यसले जातीय असमानता र संवैधानिक अस्थिरताको डर बढाएको भन्दै व्यापक विरोध भइरहेको छ। २२ वर्षीया हाना रावहिती मापी-क्लार्क न्यूजील्याण्डको इतिहासमा दुई सय वर्षपछि निर्वाचित कान्छी सांसद हुन्। २०२३ मा भएको निर्वाचनबाट संसदमा प्रवेश गरेकी उनले पहिलो सम्बोधनकै क्रममा माओरी भाषामा बोल्दै हाका नृत्य प्रस्तुत गरेर चर्चा पाएकी थिइन्।

हाना माओरी समुदायको अधिकारका लागि सक्रिय रूपमा वकालत गर्दै आएकी छिन्। माओरी समुदायसँग गहिरो रूपमा सम्बन्धित उनको परिवारले समेत सामाजिक योगदान दिँदै आएको छ। हाना हन्टली सहरमा माओरी बालबालिकाका लागि बगैँचा सञ्चालन गर्दै आएकी छिन् र आफूलाई राजनीतिज्ञभन्दा माओरी भाषाको संरक्षकका रूपमा प्रस्तुत गर्ने गर्छिन्।हाका नृत्य दक्षिण प्रशान्त महासागरका टापुहरूको परम्परागत नृत्य हो, जसलाई आक्रामक मुद्रामा खुट्टा टाँस्दै र चिच्याएर समूहमा प्रदर्शन गरिन्छ। सांस्कृतिक रूपले यो नृत्य जनजातीय एकता, शक्ति र गौरवको प्रतीक मानिन्छ। न्यूजील्याण्डमा यस नृत्यलाई रग्बी खेल सुरु हुनु अघि प्रदर्शन गर्ने परम्पराको रूपमा पनि मानिन्छ, जसले यसलाई विश्वभर लोकप्रिय बनाएको छ।

प्रतिक्रिया