सुकुटे करिडोरमा पहिलो राष्ट्रिय ‘बिच’ भलिबल प्रतियोगिता हुने

जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको 'बिच' भलिबल प्रतियोगिता हुने भएको छ।

५ मंसिर, सिन्धुपाल्चोक। जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकास्थित सुकुटे करिडोरमा आयोजना गरिने यो प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ। आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष र महिलातर्फ फरक-फरक खेल हुनेछ। सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्र सिंह थापाका अनुसार विजेता टोलीहरूले विश्व ‘बिच’ भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

कोरोनापछि केही सुस्ताएको सुकुटे करिडोर फेरि पुरानै लयमा फर्किएको छ। आन्तरिक र बाह्य पर्यटकका लागि चर्चित गन्तव्यको रूपमा प्रख्यात सुकुटे भोटेकोशी नदी किनारमा अवस्थित छ। र्‍याफ्टिङका लागि चर्चित सुकुटे नेपालको पहिलो ‘बिच’ अवधारणाबाट अघि बढेको पर्यटकीय क्षेत्र हो। यस क्षेत्रमा आयोजना हुने यो प्रतियोगिता ऐतिहासिक हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सुकुटे करिडोरमा पर्यटन प्रवर्द्धनका लागि यो ‘इभेन्ट’ले थप योगदान दिने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको संयोजक थापाले जानकारी दिए। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई सो अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेका छन् ।

प्रतिक्रिया