‘स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बन्यो’ : माओवादी

नेकपा (माओवादी केन्द्र) ले यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बन्दै गएको बताएको छ ।

५ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बन्दै गएको बताएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा उपनिर्वाचनको विषयमा प्रदेशगत रुपमा रिपोर्टिङ हुँदा नेताहरुले पार्टीको पक्षमा माहोल बन्दै गएको बताएका थिए । पार्टीको अवस्था र जितका लागि अपनाउनुपर्ने रणनीतिबारे नेताहरुले बैठकमा ब्रिफिङ गरेका थिए ।
यस्तै माओवादीले पार्टीको विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन दुईवटा कार्यदल गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा विधान सम्पादन कार्यदल गठन गरेको छ । सो कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन् ।
माओवादीको विधान गत फागुनमा विधान अधिवेशनले अनुमोदन गरेको थियो । अधिवेशनको क्रममा विधानमा आएका सुझावलाई समेटेर अन्तिम रुप दिने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाएका थिए । त्यही विषयलाई लिपीबद्ध गरेर सम्पादन गर्न कार्यदल गठन गरिएको माओवादीले जनाएको छ ।
कार्यदलले सम्पादन गरेपछि विधान निर्वाचन आयोगमा बुझाउने तयारी छ । आयोगमा तीन महले बनाएर पठाउनु पर्ने भएकाले सम्पादनका लागि कार्यदल गठन गरिएको नेताहरूले बताएका छन् ।
पालिका सम्मेलनको कार्यविधि बनाउन अर्को कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे छन् ।
‘विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन बैठकले दुईवटा कार्यदल गठन गरेको छ । राजनीतिक विषयमा भन्दा प्राविधिक विषयमै छलफल भयो ’उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

प्रतिक्रिया