६ मंसिर, सिन्धुपाल्चोक । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा देवकी तिमल्सिना रोकाय ‘समीक्षा’को उम्मेदवारी मनोनयन भएको छ। पार्टीले उम्मेदवार बनाएर अवसर प्रदान गरेकोमा उनले पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ मांखामा जन्मिएकी देवकी तिमल्सिना रोकाया २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरान चर्चित कलाकारका रूपमा स्थापित भइन्। जनयुद्धकै क्रममा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छन्।
समाजवादी मोर्चाका साझा उम्मेदवारका रूपमा सिफारिस भएकी देवकीले सर्केगाड गाउँपालिकाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। जनताबाट अपार माया पाएको बताउँदै उनले उपनिर्वाचनमा जीतको विश्वास व्यक्त गरेकी छन्।
‘सुशासन, समृद्धि र सामाजिक न्याय – हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेकी देवकीले सर्केगाडको विकास र समृद्धिका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताइन् । सर्केगाडका मतदातालाई सम्बोधन गर्दै उनले हसिया हथौड़ा चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेकी छन्।