कीर्तिपूरमा डा. महर्जनका ३५ बुँदे प्रतिबद्धता

नेकपा (माओवादी केन्द्र) ले उपचुनाव केन्द्रीत माहोल बनाउन केन्द्रीय नेतृत्व परिचालन गरेको छ ।

९ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले उपचुनाव केन्द्रीत माहोल बनाउन केन्द्रीय नेतृत्व परिचालन गरेको छ । काठमाडौं उपत्यकामा कीर्तिपूर नगरपालिकाको प्रमुख पदका लागि हुने निर्वाचनमा माओवादी केन्द्रीय नेतृव नै परिचालित भएको हो । यहि मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्यो । चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको थियो ।

प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उम्मेदवार बनाएको माओवादीका केन्द्रीय नेताहरु हितमान शाक्य, शशि श्रेष्ठ लगायतपनि कीर्तिपूरमा खटेका छन् । बौद्धिक उम्मेदवार महर्जन नमुना नगर बनाउने घोषणा सहित मैदानमा छन् । कीर्तिपूरमा माओवादीले अघि सारेका एजेण्डाले मतदाता आकर्षित गर्ने सो पार्टीको दावी छ ।

कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा. महर्जनले सार्वजनिक गरेका प्रतिबद्धताले जनताको मन जितेको छ। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक, किर्तिपुरमा खानेपानी,  शिक्षा, यातायात लगायतका काममा अगुवाई गरेका सामाजिक अभियन्ता र सम्मानित व्यक्तित्वका रूपमा परिचित महर्जनले यसपटक नेकपा (एकीकृत समाजवादी), जसपा, नेसकाको समर्थन पाएका छन्, जसले यो प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।

डा. महर्जनको प्रतिबद्धतालाई कीर्तिपुरको समृद्धि, स्वावलम्बन र शुद्ध प्रशासनको खाका मान्न सकिन्छ । उहाँको ३५ बुँदे प्रतिबद्धताले स्थानीय जनताको जीवनस्तर उकास्दै नगरपालिकाको समग्र विकासको परिकल्पना प्रस्तुत गरेको छ। उनी स्ववासी समस्याको तत्काल समाधान गर्न प्रतिबद्ध छन्। निःशुल्क फोहोरमैला व्यवस्थापन, खानेपानी र विद्युत् शुल्कमा सहुलियत र घरघरमा समानुपातिक खानेपानी वितरणजस्ता आधारभूत सेवाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्।

महर्जनको योजना केवल आधारभूत सुविधासम्म सीमित छैन। उनले सबै क्षेत्रमा कालोपत्रे सडक विस्तार, चोभारदेखि सतुंगलसम्म सडक निर्माण र सार्वजनिक पूर्वाधारमा लगानीमार्फत नगरवासीको जीवनलाई सहज बनाउने दृष्टिकोण अघि सारेका छन्। यसैगरी, स्वास्थ्य सेवामा आमूल सुधारका लागि २५ शैयाको विष्णुदेवी अस्पताल निर्माण गर्ने योजना उनका मुख्य प्रतिवद्धतामा पर्छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको शाखा स्थापनादेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी व्यवस्थित बजार निर्माण गर्नेसम्मका कार्यक्रमहरू उनको योजनामा समावेश छन्।

पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनको दृष्टि स्पष्ट छ। चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की सडक, सांस्कृतिक तथा जातीय सङ्ग्रहालयको स्थापना र कीर्तिपुरलाई सूचना प्रविधिमैत्री नगर बनाउँदै निःशुल्क इन्टरनेट सेवाको विस्तारले नगरको पहिचानलाई अझ बलियो बनाउने उनको योजना छ।

महिला, युवा र खेलकुदको क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। महिलाको लागि स्वरोजगार परियोजनाहरू सञ्चालन, युवालाई स्वरोजगारमुखी बनाउने र खेलाडीहरूको सम्मानका लागि मासिक भत्ताको सुनिश्चितता उनका ठूला कदमहरू हुन्। नगर खेलकुद परिषद् गठन गरेर सबैको पहुँच विस्तार गर्ने र चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने योजना कीर्तिपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुनेछन्।

प्रतिक्रिया