१२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’ले दोस्रो वर्षको कार्य विवरण सार्वजनिक गरेका छन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर निर्वाचन आयोगबाट आधिकारिक प्रमाणपत्र बुझेको दुई वर्ष पूरा भएको दिन मंगलबार सांसद सापकोटाले सामाजिक सञ्जालमार्फत वर्षभरिका मुख्य कार्यहरू सार्वजनिक गरेका हुन्। सापकोटाले जनप्रतिनिधि बनाउने मतदाताहरूलाई धन्यवाद दिँदै हरेक वर्ष आफ्ना क्रियाकलापहरू सार्वजनिक गर्ने परम्परा स्थापना गरेको बताएका छन्। गत वर्ष जिल्लाका संघ र प्रदेशका गरी चार जना सांसदहरूले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत कार्य विवरण सार्वजनिक गरे पनि यस वर्ष भने सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत जानकारी गराएको उनले उल्लेख गरेका छन् ।
तीन पृष्ठ लामो आफ्नो कार्य विवरणमा सांसद सापकोटाले संसदीय कार्य, निर्वाचन क्षेत्रमा पुरा गरेका प्रतिवद्धता, संसदमा बोलेका निर्वाचन क्षेत्र र राष्ट्रिय मुद्दा, विकास निर्माण र अन्तर्राष्ट्रिय फोरममा सहभागितालगायतका विषयलाई समेटेका छन्।
संसदमा ९७ प्रतिशत उपस्थिति जनाउँदै ३६ पटक सम्बोधन गरेको उल्लेख गर्दै उनले शून्य समय, आकस्मिक र विशेष समय तथा विभिन्न विधेयक र छलफलमा आफूले सहभागिता जनाएको जानकारी गराएका छन् । पूर्वाधार विकास समिति सदस्यका रूपमा १४ बैठकमध्ये ११ बैठकमा उपस्थित भएर सक्रिय भूमिका खेलेको र अरनिको लोकमार्गको संसदीय अनुगमनको समन्वय गरेको विषय विवरणमा समेटिएको छ।
सांसद सापकोटाले संसदमा जलवायु परिवर्तनको प्रभाव र असरको विषयलाई मुख्य विषय बनाएर बहुपक्षीय छलफल र अन्तरक्रियामा सहभागिता जनाएको तथा कोप २९ सम्मेलनमा नेपालका तर्फबाट राखिनुपर्ने विषयहरूको समन्वय गरेर राष्ट्रपतिलाई अनुरोधपत्र बुझाएको स्मरण गरेका छन्।
सिन्धुपाल्चोकले दशकयता व्यहोरेका विपत्तिहरू, भूकम्प, बाढी पहिरो र जलवायु परिवर्तनबाट हुने क्षतिबारे संसदमा सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई साधनस्रोत सम्पन्न बनाउन विशेष जोड दिएको उनले बताएका छन् । सापकोटाले सम्भावित विपत्तिहरूको पूर्वतयारीका लागि सरकार र सरोकारवाला निकायलाई विशेष पहल गर्न आग्रह गरेको उल्लेख गरेका छन् ।
संसदमा फरक फरक समयमा यस बर्ष मात्रै तीन पटक दुग्ध किसानहरूको बक्यौता रकमको विषयमा आवाज उठाएर सरकारलाई खबरदारी गरेको उल्लेख गर्दै उनले बाढी पहिरोबाट क्षतिग्रस्त जुरे–लिपिङ सडक खण्डको स्तरोन्नतिका लागि तथ्यसहित सरकारको ध्यानाकर्षण गराएको विवरणमा उल्लेख गरिएको छ। बाह्रबिसे नगरपालिकाको खागदल खोलाको पुल बाढीले बगाएपछि संसदमा ध्यानाकर्षण गराएको, निर्माणका लागि भौतिक पूर्वाधार मन्त्री र सरोकारवाला निकायसँग छलफल गरेर बेलीब्रीज निर्माण कार्य सम्पन्न भएको पनि उनले बताएका छन्।
तातोपानी नाकाको पुनः सञ्चालनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अध्यागमन र सुरक्षाकर्मीका लागि भवन निर्माण गराउन सरकारको ध्यानाकर्षण गराएको र सिन्धुपाल्चोकका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि संसदबाट भूमिका निर्वाह गरेको विवरण सार्वजनिक गरिएको छ।
उनले जनयुद्धको अपमान गर्दै ‘हिंसा’ शब्दको प्रयोग गरेर आएका अभिव्यक्तिको संसदमा प्रतिरोध गरेको र जनयुद्धलाई अवमूल्यन गर्न कसैलाई अधिकार नभएको धारणा राखेको विषय विवरणमा उल्लेख गरेका छन् । संक्रमणकालीन न्याय, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु पर्ने विषय र भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दाहरूमा संसदमा आफ्नो धारणा स्पष्ट पारेको पनि कार्य विवरणमा छ।
उनले गत असोज ११ र १२ गतेको बाढी पहिरोपछि निर्वाचन क्षेत्र र जिल्लामा परेको विपत्तिको कारण बेलायतमा निर्धारित संसदीय प्रतिनिधिमण्डलको कार्यक्रम रद्द गरी प्रभावित क्षेत्रमा खटेको उल्लेख गरेका छन्। तत्काल सडक, विद्युत्, र टेलिफोन सेवा पुनः सञ्चालन गर्न समन्वय गरेसँगै घाइतेहरूको उद्धार र उपचार, मृतकहरूको पोष्टमार्टम, तथा विस्थापितहरूका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सहजीकरण गरेको विवरणमा समेटिएको छ।
निर्वाचन क्षेत्रका विकास निर्माण कार्यहरूको प्रगतिबारे जानकारी दिँदै सांसद सापकोटाले जुगल हिमश्रृङ्खलाका हिमाल आरोहणका लागि खुला गराउन खेलेको भूमिका, आरोहिहरुलाई आधारशिविरमा पुगेर दिइएको शुभकामना, जुगल गाउँपालिकाको विकट गुम्बा क्षेत्रमा विद्युतीकरणको पहलकदमी र मोटर बाटोको निर्माणमा अग्रणी भूमिका खेलेको बताएका छन। उनले आफ्नो निर्वाचन क्षेत्रका सबै ५४ वडामा पुगेर स्थानीय जनताका समस्याहरू सुन्ने र समाधानका लागि पहल गर्ने काम गरेको जानकारी गराएका छन् ।
सार्वजनिक विवरण अनुसार एक बर्षको अवधिमा उनी १५७ पटक निर्वाचन क्षेत्रमा पुगेर स्थानीय तह, क्याम्पस, विद्यालय, सहकारी र विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी भएका छन्। यसक्रममा उनले मृतक परिवारहरूसँग भेटघाट गरी सहानुभूति व्यक्त गर्नुका साथै बाढीपहिरोबाट भएको क्षति अवलोकन गरी राहत तथा पुनर्स्थापनाका लागि समन्वय गरेका छन्। साथै, सडक सञ्चालनका कार्यहरूमा समेत सक्रिय भूमिका निभाउँदै २४१ वटा प्रत्यक्ष सरोकार भएका कार्यक्रमहरूमा सहभागिता जनाएका छन्।
बाढी पहिरोबाट प्रभावित क्षेत्रका नागरिकलाई राहत र पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र अन्य निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग पुर्याएको, विद्यालयमा सांसद, संसदमा विद्यार्थी कार्यक्रम सञ्चालन गरी विद्यालयमा गएर कक्षा लिएको र विद्यार्थीलाई संसद अवलोकनमा लगेर सांसद र संसदबारे जानकारी गराएको, तथा विभिन्न विकास निर्माण परियोजनाहरूको अनुगमन र सहजीकरण गरेको विवरणमा उल्लेख छ । सांसद सापकोटाले आगामी दिनमा पनि मतदाताहरूप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तो छ सापकोटाको दोस्रो वर्षको कार्य विवरण