१३ मंसिर, सिन्धुपाल्चोक। बागमती प्रदेशसभा सदस्य अमृता नेपालले आम नागरिकलाई सम्बोधन गर्दै पछिल्ला दुई वर्षमा हासिल गरेका उपलब्धिहरू र आगामी योजनाका विषयमा जानकारी गराएकी छन्।
प्रदेश सभा सदस्य निर्वाचित भएको दुई बर्ष पूरा भएको अवरमा कार्य विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सिन्धुपाल्चोक जिल्लाका आम नागरिकलाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले संविधान, कानुन र जनउत्तरदायी पद्धतिमा आधारित रहेर जनताको पक्षमा काम गरिरहेको स्पष्ट गरेकी छन् । सांसद नेपालले आफ्नो क्षेत्रका पहाडी बस्ती, पर्यटन क्षेत्र र हिमाली गाउँहरूको समग्र विकास, पिछडिएका वर्गहरूको सशक्तीकरण, र प्रदेशमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध पहलहरू अघि बढाइएको उल्लेख गरेकी छन्। जुगल हिमाल क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिनुका साथै दीर्घकालीन विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छन्।
सांसद नेपालले दुर्गम क्षेत्रका समुदायलाई स्वास्थ्य सेवामा पहुँच दिलाउन, महिला सशक्तीकरण र रोजगारीका अवसरहरू सिर्जना गर्न, तथा स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै समग्र विकासका लागि निरन्तर लागिरहने बताएकी छन्। साथै हालैका विपद्का समयमा प्रभावित नागरिकहरूको पुनःस्थापना र उद्धार कार्यमा सरकारको सहयोगलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र अन्य क्षेत्रको पर्यटन सम्भावनाको अध्ययन र त्यसलाई वास्तविकतामा बदल्न ठोस कदम चाल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्। दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन समेत प्राथमिकता दिइने उनले बताएकी छन्।
उनले जनताको माया र विश्वासले आफूलाई जिम्मेवारी वहन गर्न प्रेरित गरिरहेको भन्दै आगामी दिनमा जनताको पक्षमा अझ प्रभावकारी ढङ्गले काम गर्न प्रतिबद्धता व्यक्त गरेकी छन्।