१३ मंसिर, सिन्धुपाल्चोक । बागमती प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले आफ्नो दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्। सिन्धुपाल्चोक–२ (१) का मतदातालाई सम्बोधन गर्दै उनले प्रदेश सभा र सरकारमा निर्वाह गरेका जिम्मेवारीहरूको विवरण प्रस्तुत गरेका हुन्।
उनले आफ्नो १८ महिने कार्यकाल भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा बिताएको र बाँकी समय प्रदेश सभा सदस्यको रूपमा क्षेत्रीय विकासका कार्यमा केन्द्रित रहेको उल्लेख गरेका छन्। यो अवधिमा सडक, पुल, शिक्षालय, स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण प्रगति भएको बताउँदै दुलालले मेलम्चीखोला पुल, चौतारा रंगशाला, नौबीसे–चौतारा–मेलम्बी सडक जस्ता योजनाहरूको सफल कार्यान्वयनलाई प्राथमिकताका रूपमा प्रस्तुत गरे।
दुलालले प्रदेश सरकारको नेतृत्वमा बागमती प्रदेश सडक गुरुयोजना पारित गरिएको र यसमार्फत करिब २५० सडक योजनालाई अघि बढाइएको जनाएका छन्। यस योजनाले प्रदेशभरि ठूला र साना सडकहरूलाई जोड्ने आधार तयार गरेको छ। साथै, उनले जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धार, चेपाङ र बोटे समुदायको आवास कार्यक्रम र सिन्धुपाल्चोकको अस्पताल स्तरोन्नति जस्ता सामाजिक क्षेत्रमा भएका कामहरूको पनि चर्चा गरे।
दुलालले मतदातासँग गरेका चार प्रमुख प्रतिवद्धताहरूलाई पनि पुनः स्मरण गराएका छन्। जनताको सुखदुःखमा साथ दिने, विकास निर्माणमा योगदान पुर्याउने, नीति निर्माणमा सक्रिय सहभागिता जनाउने र साझा जनप्रतिनिधिको रूपमा काम गर्ने वाचालाई आफूले इमानदारीपूर्वक पालना गरिरहेको उनको दाबी छ।
उनले आगामी दिनमा विकास, जनसेवा र नीति निर्माणमा थप सक्रिय रहँदै सबै सरोकारवालाका सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।