हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सिन्धुपुत्री देवकी निर्वाचित

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उमेदवार सिन्धुपुत्री देवकी तिमल्सीना 'समीक्षा' निर्वाचित भएकी छन् ।

१८ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उमेदवार सिन्धुपुत्री देवकी तिमल्सीना ‘समीक्षा’ निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार गाउँपालिकाको उपाध्यक्षमा तिमल्सीनाले नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
तिमल्सीनाले काँग्रेसका उम्मेदवार बुढालाई ४३ मतान्तरले मात्रै पछि पार्दै जित हासिल गरेकी हुन् । तिमल्सीनाले १ हजार ६३७, बुढाले १ हजार ५९४, नेकपा (एमाले) का उम्मेदवार जाना शाहीले ४७१ मत प्राप्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत मात्रै प्राप्त गरेका छन् । जम्मा ४ हजार ५२६ मत खसेकोमा ७८ मत भने बदर भएका छन् ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा यस अघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक सम्पन्न उपनिर्वाचन मध्ये कर्णाली प्रदेशमा वडा बाहेक २ पालिका उपाध्यक्षको निर्वाचनमा दुबै पालिकामा माओवादी केन्द्रकै उपाध्यक्ष निर्वाचित भएका छन् ।


को हुन उपाध्यक्ष निर्वाचित देवकी तिमल्सीना


सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ मांखामा जन्मिएकी देवकी तिमल्सीना २०५२ सालमा सुरु भएको दशक लामो जनयुद्धका दौरानमा भूमिगत भइन् । उनी जनयुद्धका क्रममा चर्चित कलाकारका रूपमा स्थापित भइन्। जनयुद्ध जारी रहँदा उनले हुम्लाका पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिईन । शान्ति प्रक्रियापछि उनले कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिएकी थिइन् । समाजवादी मोर्चाका साझा उम्मेदवारका रूपमा सिफारिस भएकी देवकीले सर्केगाड गाउँपालिकाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै मतदातालाई विश्वासमा लिन सफल भइन् । जनताबाट अपार माया पाएको बताउँदै उनले उपनिर्वाचनमा जीताउने सबैलाई धन्यवाद दिएकी छन् । ‘सुशासन, समृद्धि र सामाजिक न्याय – हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेकी देवकीले सर्केगाडको विकास र समृद्धिका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रतिक्रिया