२१ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन्। चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा मङ्सिर १७ देखि २० सम्म सम्पन्न भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका उच्च नेतृत्वसँग द्विपक्षीय छलफल गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल गरे । यस्तै नेपाली प्रतिनिधिमण्डल र लि छियाङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सम्पन्न भएको थियो। वार्तामा सम्पर्क सञ्जाल, पूर्वाधार, कृषि, ऊर्जा र वाणिज्यजस्ता क्षेत्रका महत्त्वपूर्ण परियोजनाहरूमा सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित प्राज्ञिक कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै दुई देशबीचको शैक्षिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन आह्वान गरेका थिए। साथै, नेपाल-चीन बिजनेस फोरमलाई सम्बोधन गर्दै उनले चिनियाँ नागरिकलाई नेपाल भ्रमण र लगानीका लागि प्रेरित गरेका छन्।
भ्रमणका अवसरमा नेपाल र चीनबीच १० वटा सम्झौता/समझदारीमा हस्ताक्षर भएको छ। प्रमुख सम्झौताहरूमा टोखा-छहरे सुरुङमार्ग निर्माण, व्यापार अभिवृद्धि, वसन्तपुर दरबार पुनर्निर्माण र थर्मली प्रोसेस्ड भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल समावेश छन्। चीनले नेपाललाई थप ५०० मिलियन RMB (ने.रु. ९ अर्ब ३४ करोड) अनुदान घोषणा गरेको छ। प्रधानमन्त्री ओलीले भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।