के सिन्धुपाल्चोकमा माओवादी र कांग्रेस बीच झडप हुन लागेको हो ?

मंसिर २२ गतेदेखि सिन्धुपाल्चोकको राजनीति असामान्य रूपमा तातेको छ।

मंसिर २२ गतेदेखि सिन्धुपाल्चोकको राजनीति असामान्य रूपमा तातेको छ। यो विवाद सांसद मोहन बस्नेतद्वारा सांसद माधव सापकोटा (सुबोध) माथि गरिएको व्यक्तिगत र अराजनीतिक टिप्पणीका कारण चुलिएको हो। आफूलाई क्षेत्र २ मा धकेलेर १ नम्बरबाट जित हासिल गरेका माओवादी युवा नेता सुबोध विरुद्ध बस्नेतले जथाभावी बोलेपछि उत्पन्न तनावले राजनीतिक माहोललाई थप उत्तेजित बनाएको छ।

घटनाको सुरुवात : घटनाको सुरुवात त्रिपुरासुन्दरी गाउँपालिका वडा नं .६, टेकानपुरस्थित दावी खोलामा निर्माणाधीन पुलको उद्घाटनसँगै भयो। उक्त पुल जुरे पहिरोपछि वैकल्पिक मार्गका रूपमा बागमती प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको थियो। पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन मन्त्री अरुण नेपालको पहलमा सुरु गरिएको यो योजनाले सिन्धुपाल्चोकका बासिन्दाको आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको थियो। स्थानीय जनताको भनाइमा, निर्माण कार्य अझै सम्पन्न नभइसकेको र श्रमिकहरूले पारिश्रमिकसमेत नपाएको अवस्थामै पुलको उद्घाटन गर्ने हतारो देखाइएको थियो। सांसद बस्नेतले स्थानीयको विरोधलाई बेवास्ता गर्दै आफ्ना कार्यकर्ता र ठूलो संख्यामा प्रहरी बलको सहयोगमा पुल उद्घाटन गरे।

स्थानीयको विरोध : उद्घाटनको क्रममा स्थानीयहरूले नाराबाजी मात्र गरेनन्, रुख ढालेर बस्नेतको आवागमनमा समेत अवरोध पुर्‍याए। स्थानीयहरूले यस विषयमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्त ध्वज बोहरा र वडा अध्यक्षलाई पहिले नै असन्तुष्टि जनाइसकेका थिए। तर, बस्नेतले बलजफ्तीपूर्वक पुल उद्घाटनको कार्यक्रम अगाडि बढाए। उनको कदमले स्थानीयहरूमा मात्र होइन, समग्र राजनीतिक वृत्तमा पनि असन्तोष र आलोचना निम्त्यायो। कांग्रेस नेता बस्नेतको उद्घाटनको शैली र उनको क्रियाकलापप्रति असन्तोष जनाउँदै स्थानीयहरूले उनको कदमलाई सरकारी शक्ति दुरुपयोगको रूपमा व्याख्या गरे।

बस्नेतको विवादास्पद टिप्पणी : पुल उद्घाटनको क्रममा बस्नेतले सापकोटाप्रति गरेका स्तरहीन टिप्पणीले राजनीतिक माहोललाई थप गर्माएको छ। बस्नेतले आफूलाई ‘सिन्धुपाल्चोकको सरकार’ घोषणा गरेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना सिर्जना गर्‍यो। बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले आफ्नो स्टाटसमा प्रतिक्रिया जनाउँदै लेखे, ‘यस्ता व्यक्तिलाई सुधार केन्द्रमा लैजानु आवश्यक छ।’ बाह्रविसे नगरपालिकाका पूर्व प्रमुख, एमाले नेता निमफुन्जो शेर्पाले सरल सहयात्रीको स्टाटसमा टिप्पणी गर्दै ‘बस्नेतलाई मानसिक स्वास्थ्य उपचार आवश्यक भएको’ व्यंग्य गरे।

सापकोटाको मौनता र बस्नेतको क्षति : यो घटनाक्रमले सापकोटालाई थप लोकप्रिय बनाएको छ। बस्नेतको विवादास्पद टिप्पणीलाई जवाफ नदिई, सापकोटाले परिपक्वता र धैर्यताको छवि स्थापित गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार बस्नेतको व्यक्ति लक्षित टिप्पणीले उनलाई नै घाटा बनाएको छ। जनताले सापकोटाको मौनतालाई सकारात्मक रूपमा लिएका छन्, जसले बस्नेतको राजनीतिक हैसियतलाई चुनौती दिएको छ।

सरल सहयात्री भन्छन : लठुवा राजनीति सदा टिक्दैन

सहयात्रीले फेसबुक स्टाटसमा लेखेका छन्: ‘पञ्चायती सिआइडीको घुमुवा भत्ता खाएर नेपाली कांग्रेसको सुराकी गर्न ने.बि.संघमा छिरेको एकजना डेट एक्स्पाएर्ड् गुण्डा नाईकेले सिन्धुपाल्चोकको एक कार्यक्रममा मेरो हैसियत नापेछ ‘कुल्ली’ भनेर । तस्करी र गुण्डागर्दीलाई राजनीतिक बैधानिकता दिएर सिन्धुपाल्चोकको सामाजिक स्तरलाई दुर्नाम गर्ने र स्वयं नेपाली कांग्रेस र बिपिको इतिहासलाई समेत पोलेर सेकुवा लुड्याउने एक सामन्तको दलालले श्रम र श्रमिकलाई गर्ने भनेको अपमान नै हो । हरेक श्रमिकले लडेर ल्याएको गणतन्त्रमा हैसियतको हिसाव श्रमका आधारमा श्रमिकले गर्छन् । मलाई गौरब छ म कुनैबेला बिद्यार्थी थिएँ, मज्दुर थिएँ, बिभेदको बिरूध्द बिद्रोह गर्ने योध्दा थिएँ र अहिलेपनि अनबरत एक सामाजिक योध्दा छु । चर्चित टेरामक्स काण्डको फाईल एकपटक अख्तियारले खोलेको दिन आफ्नो हैसियत कहाँ पुग्छ हेक्का राखिराखे हुन्छ । कुनै जनजातीको छोराले राजधानीमा किनेको दशौं रोपनी जग्गा हडपेर आफुलाई खान्दानी भन्दै प्रचार गर्ने ठगमा गनिएको छैन आजसम्म । स्थानीय ब्यापारीलाई राजस्व लगाईदिन्छु भन्दै बार्गेनिङ गरेर असुलउपर धन्दामा संलग्न भएको छैन । जनताको अदालतमा जीवनको एक-एक पाईला र पलहरुको नैतिक हिसाब दिनसक्ने ल्याकत बोकेर उभिएको मान्छे हुँ । मेरा बिषयमा गरिएको अराजनीतिक र तथ्यहिन आरोपको बारेमा सार्बजनिक मंचमा आँखा जुधाएर बहस गर्ने ल्याकत राख्छु । ३० बर्षदेखी लगातार सिन्धुपाल्चोकमा राजनीति गर्दा २०६४ अघि कतिवटा सडक बने र? कतिवटा अस्पताल बने ? कुन सडक र कुन पुल कसरी बनेको हो भन्ने इतिहास तथ्यका आधारमा एकएक हिसाब हुनेछ । मेरो गाउँ जाने सडक बनाउनेले आफ्नो गाउँ जाने सडकको हालत किन त्यसरी बिगारेको ? ढेडुले पगरी गुतेझैं आफैं अतमत्त भएर हिड्ने लठुवा राजनीति सदा टिक्दैन । जनता सदा मुर्ख भएर बस्दैनन् । जित्नु र सत्य स्थापित हुनु एउटै बिषय होइन । सत्यका लागि लडेको योध्दा हुँ, हजार हार ब्योहोरेर सत्य स्थापित गर्ने ल्याकत राख्छु । सिन्धुपाल्चोकमा माओवादी कसैको धम्कीले डराउने जात होइन । अन्तमास यो पनि हेक्का रहोस कि गत चुनाबमा कंग्रेस माओवादी ले एकअर्कालाई गठबन्धनमा मतदान गरिएको हो । अझ सिन्धुपाल्चोकमा पार्टीप्रति इमान्दार कांग्रेसहरुले मात्रै गठबन्धनको निर्णय मानेका थिए भन्ने कुरा घाम जतिनै छर्लङ्ग छ । ‘उनले असभ्य अभिब्यक्तिको प्रतिबादका लागि पूर्ण सभ्य भाषा प्रयोग हुन नसकेकोमा आम मतदाता एवं जनसमुदायप्रति क्षमाप्राथी छु’ भनेका छन् । 

के अब झडप होला : माओवादी कार्यकर्ता पर्ख र हेरको अवस्थामा छन । बस्नेत बोल्न छाडेका छैनन् । माओवादीको युवा संगठन वाइसिएलका नेताहरु नेतृत्वतहबाट आदेशको पखाईमा रहेको टिप्पणी गरिरहेका छन् । सुरुमा सापकोटा र त्यसपछि सरल सहयात्री विरुद्ध अराजनीतिक टिप्पणी गेरर माओवादी पंक्तिलाई उत्तेजित बनाइरहेका बस्नेतका कारण सिन्धुपाल्चोकमा झडप टाढा छैन ।

प्रतिक्रिया