२९ मंसिर, काठमाडौं। सांसद माधव सापकोटा ‘सुबोध’ नेपाल विद्यालय खेलकुद महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न महासंघको साधारण सभा तथा निर्वाचनबाट सापकोटा बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। यसअघि सापकोटा महासंघको उपाध्यक्षका रूपमा कार्यरत थिए ।
महासंघको साधारण सभा तथा निर्वाचन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। निर्वाचित पदाधिकारीहरूले शनिबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
साधारण सभाले चार वर्षे कार्ययोजना पारित गर्दै आगामी रणनीतिक योजना तय गरेको छ। महासंघले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष विनोद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष माधव सापकोटा, उपाध्यक्षहरू गोपी बहादुर सार्की (अछामी), मोहनकुमार कार्की र सीता लामा रहेका छन्। महासचिवमा राजकुमार कार्की निर्वाचित भएका छन् भने सदस्यहरूमा सुवास न्यौपाने, आरबी कटुवाल, खड्कबहादुर थापा, दुर्गाबहादुर ढुंगाना, मोहनराज भट्ट, विजय गौतम, सुमन श्रेष्ठ, पदम राना, सोविनराज रेग्मी, नविन महर्जन र रन्जना प्रधान निर्वाचित भएका छन्।
महासंघले साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ५८ जिल्ला र ७ प्रदेशका प्रतिनिधि, पर्यवेक्षक तथा सम्बन्धित निकायहरूप्रति विशेष आभार व्यक्त गरेको छ। यससँगै निर्वाचित कार्यसमितिलाई विद्यालय तहमा खेलकुदको विकास र विस्तारका लागि सफल कार्यकालको शुभकामना दिइएको छ।