६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। बहुप्रतीक्षित फाइनल खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।
प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई पराजित गरेपछि फाइनल प्रवेश गरेको थियो। त्यस्तै, दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्समाथि सानदार जित हासिल गर्दै उपाधि दौडलाई निरन्तरता दिएको हो। यी दुई टोलीबीचको प्रतिस्पर्धा सिजनकै चर्चित खेल मानिएको छ।
सुदूरपश्चिम रोयल्सको नेतृत्व टोलीका अनुभवी खेलाडी अलराण्डर दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। जनकपुर बोल्ट्सको तर्फबाट आसिफ शेख कप्तानको भूमिकामा हुनेछन् । जनकपुरका नियमित कप्तान अनिलकुमार शाह घाइते भएका कारण पछिल्ला दुई खेलमा शेखले कप्तानीको जिम्मेवारी निभाएका छन्। उनको नेतृत्वले जनकपुरलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
सुदूरपश्चिम यस खेलमा जित हासिल गर्दै जनकपुरविरुद्ध जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो। फाइनलमा पनि उस्तै प्रदर्शन गर्दै उपाधि हात पार्ने योजना टोलीले बनाएको छ।
त्यस्तै, जनकपुर बोल्ट्सको उद्देश्य भने सुदूरपश्चिममाथि आफ्नो अघिल्ला दुई हारको बदला लिँदै उपाधि जित्ने रहेको छ। जनकपुरका खेलाडीहरू पछिल्ला खेलहरूमा देखाएको सुधार र आत्मविश्वासका कारण टोलीलाई बलियो मानिएको छ।
फाइनलमा सधैँजस्तै त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपालमा पहिलो पटक आयोजना गरिएको यस खाले खेलमा नेपाली क्रिकेटका समर्थकहरू आजको फाइनल खेललाई ऐतिहासिक बनाउने तयारीमा छन्। खेलले नेपाली क्रिकेटको स्तर र प्रतिस्पर्धाको तह थप उजागर गर्ने विश्वास गरिएको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै नगद पुरस्कार प्राप्त गर्नेछन्।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।