नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले ऐतिहासिक सफलता हासिल गर्‍यो। यससँगै समूह चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग व्यहोरेको हारको बदला लिन जनकपुर सफल भयो। लिग चरणमा ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँग पराजित भएको जनकपुरले फाइनलमा प्रभावशाली पुनरागमन गर्‍यो।

फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। पहिलो विकेटका लागि विनोद भण्डारी र सैफ जैवले १२ ओभरमा ११७ रनको उत्कृष्ट साझेदारी गरे। १२ औं ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएपछि १३ औं ओभरको दोस्रो बलमा विनोद भण्डारी पनि आउट भए। सैफले ४३ बलमा ६९ रन बनाउँदै ८ चौका र २ छक्का प्रहार गरे। भण्डारीले ३१ बलमा ४१ रन बनाउँदै १ चौका र ३ छक्का प्रहार गरे।

तर, सुदूरपश्चिमका तल्लो क्रमका ब्याटर दबाबमा देखिए। हरमित सिंहले १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए। ब्राण्डोन म्याकमुलेन १४ रनमा जेम्स निसमको बलमा बोल्ड आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन बनाउँदा मोहसिनको बलमा धामीले क्याच गरे। आरिफ शेख १ रनमा मोहसिनकै बलमा ललित राजवंशीको हातबाट आउट भए।

सुदूरपश्चिमका स्कट कुगेलिनले १३ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए। नरेश बुढाएर ८ रन बनाउँदै किशोरकै बलमा शेर मल्लले क्याच गरे। जनकपुरका मोहसिन र महतोले समान ३(३ विकेट लिए। ललित राजवंशीले १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट झारे।

सुदूरपश्चिमको १८५ रनको चुनौतीलाई पछ्याउँदै जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। जनकपुरका लाहिरु मिलान्थाले विस्फोटक प्रदर्शन गर्दै ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ८७ रन बनाए। उनी स्कट कुगेलिनको बलमा कट एण्ड बोल्ड भए। कप्तान आशिफ शेखले १९ बलमा ३३ रन बनाउँदै ४ चौका र २ छक्का प्रहार गरे। उनी सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए। मोहम्मद मोहसिनले ९ रन बनाउँदै इसान पाण्डेको बलमा बोल्ड आउट भए। जेम्स निसम ४ रनमा दीपेन्द्रसिंह ऐरिको बलमा बोल्ड भए। आकाश भिपाठी २ रनमा रनआउट भए। जनकपुरका हर्ष ठाकेर ३० रन र मयन यादव २ रनमा नटआउट रहे।

फाइनल खेलमा प्रदर्शनका आधारमा विभिन्न पुरस्कार पनि वितरण गरियो। शेर मल्ललाई क्याच अफ द म्याच, हेमन्त धामीलाई इलेक्ट्रिक मोमेन्ट अफ द म्याच, र लाहिरु मिलान्थालाई धेरै चौका हान्ने खेलाडीको रूपमा सम्मान गरियो। प्लेयर अफ द म्याच बनेका लाहिरु मिलान्थाले ५० हजार रुपैयाँ पुरस्कार पाए। जनकपुरको यो ऐतिहासिक जितले नेपाल प्रिमियर लिगको पहिलो संस्करणलाई रोमाञ्चक रूपमा समापन गर्‍यो।

प्रतिक्रिया