८ मंसिर, सिन्धुपाल्चोक। ब्रम्हायणी करिडोरको जलविरे बजारमा अवस्थित जलविरे भ्याली क्याम्पसको १४औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। आइतबार क्याम्पस परिसरमा भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
चन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध) प्रमुख अतिथि, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल र अमृता नेपालको आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बलेफी र जुगल गाउँपालिकाका अध्यक्षहरू, स्थानीय नेतृत्व, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष समेत रहेका सांसद सापकोटाले जलविरे भ्याली क्याम्पस ब्रम्हायणी करिडोरको शैक्षिक हब भएको बताए। उनले क्याम्पसलाई यस स्थानसम्म ल्याउन भूमिका खेलेको स्मरण गर्दै अराजकता अन्त्यका लागि शिक्षा क्षेत्रले दबाब दिनुपर्ने बताए। सांसदद्वय सहयात्री र नेपालले क्याम्पसको प्रगतिका लागि शुभकामना दिए।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले पहिलो वर्ष भर्ना हुने विद्यार्थीहरूको शुल्क गाउँपालिकाबाट बेहोर्ने बताए। यसअघि जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले पनि भर्ना शुल्क तिरिदिने घोषणा गरेका थिए ।
कार्यक्रममा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र खेलाडी प्रेम भण्डारीलाई सम्मानित गरिएको थियो। न्यौपाने र भण्डारी सोही क्षेत्रमा जन्मे-हुर्केका राष्ट्रिय व्यक्तित्वका रूपमा सम्मानित भएका हुन्। न्यौपानेले कलेजमा पुस्तकालय स्थापनाका लागि सहयोगको घोषणा गरे। उनले क्याम्पसको पुस्तकालयका लागि एक लाख रुपैयाँसम्मको पुस्तक खरिद गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, बलभद्र आचार्य अक्षयकोषका संस्थापक राजकुमार आचार्यले कोषबाट दुई जना विद्यार्थीलाई प्रत्येकलाई तीन हजार रुपैयाँ सहयोग गरे। कराते प्रशिक्षक प्रेम भण्डारीले दुई जना विद्यार्थीलाई पाँच हजार रुपैयाँ सहयोग गरे।