१२ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे करिडोरमा शुक्रबार आयोजित खबरदारी सभामा माओवादी केन्द्रका नेताहरूले कांग्रेस नेता मोहन बस्नेतलाई कडा चुनौती दिएका छन्।
खबरदारी सभामा माओवादी नेताहरूले क्षेत्र नं. २ का प्रतिनिधि बस्नेतले आफ्नो क्षेत्रमा विकासका धाक लगाएर हिँड्ने गरेपनि आफ्नै घरसम्म पुग्ने बाटो समेत बनाउन नसकेको भन्दै आलोचना गरे। क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले आफ्नो सम्बोधनमा भने, ‘बाह्रबिसे हुँदै बस्नेतको घर जाने बाटोमा मोटरसाइकल चलाउन समेत गाह्रो भएपछि मैले नै आग्रह गरेर युवराज दुलालजी मन्त्री हुँदा बजेट पारिदिएको हो। भर्खरै सिलान्यास भएको छ। अब बनेपछि उनैले उद्घाटन गरेहुन्छ, तर यो कुरा नबिर्सनु घर जाने बाटो हामीले बनाइदिँदै छौं ।’
सापकोटाले खागदलबाट घोर्थलीसम्म जाने बाटो निर्माणका लागि दुलाल मन्त्री हुँदा आफूहरूले अनुगमन गरी बजेटका लागि विशेष पहल गरेको स्मरण गर्दै त्यसपछि ३७ करोड रुपैयाँको ठेक्का लागेको जानकारी दिए। उनले विकासप्रेमी नेता भन्दै हिँड्ने बस्नेतको वास्तविकता सार्वजनिक गर्दै माओवादीको प्रयासले मात्रै बजेट पारित भएको स्पष्ट पारे।
यसै विषयमा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाल शरदले पनि आफ्नो मन्तव्यमा स्पष्ट गरेका थिए । उनले भने, ‘म मन्त्री हुँदा नै यो बाटोको ठेक्का गरिएको हो। पीच भएको दाबी गरिएको थियो, झूट साबित भएपछि बजेट छुट्याएर काम अघि बढाइएको हो।’ आफ्नै घर जाने बाटो बनाउन नसक्नेले आफूलाई विकासप्रेमी भन्नु हास्यास्पद हुने दुलालको तर्क थियो ।
खबरदारी सभामा माओवादी नेताहरूले कांग्रेस नेताका विकासका दाबीहरू भ्रमपूर्ण भएकोले ती कुराका पछि नलाग्न आग्रह गरे। प्रमुख वक्ताहरूले सुकुटे करिडोरको महत्वको चर्चा गर्दै क्षेत्रीय विकासमा माओवादीले खेल्दै आएको भूमिकाको रक्षा गर्न जनसमुदायलाई एकजुट हुन आह्वान गरेका थिए ।