महिला सञ्जालको आयोजनामा रक्तदान कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्बर ७ मा अवस्थित शिवम मार्ग टोल सुधार समितिको शिवम मार्ग महिला सञ्जालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

१४ पुस, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्बर ७ मा अवस्थित शिवम मार्ग टोल सुधार समितिको शिवम मार्ग महिला सञ्जालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजित यस कार्यक्रममा ७२ जनाले रक्तदान गरेको सञ्जालकी सदस्य शारदा पराजुली धितालले जानकारी दिएकी छन् । हाल देशभर रगतको अभाव भइरहेको अवस्थामा यस्तो रक्तदान कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने रेडक्रसका अधिकारीहले बताएका छन् । अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक अवस्थाका बिरामीहरूलाई चाहिने रगतको अभावले समस्या सिर्जना भइरहदा महिला सञ्जालको यो प्रयासले राहत प्रदान गरेको छ।
रक्तदान कार्यक्रमको उद्देश्य रगतको अभाव पूर्ति गर्नु नभई समाजमा जागरण ल्याउने र मानिसहरूलाई सामाजिक सेवामा प्रोत्साहित गर्नु पनि भएको आयोजकको भनाई छ ।

कार्यक्रमले स्थानीय स्तरमा मानिसहरूलाई रक्तदानको महत्त्व र यसको स्वास्थ्य लाभबारे सचेत गराएको छ। कार्यक्रममा सहभागीहरू उत्साहित देखिन्थे। रक्तदाता मध्ये धेरैले पहिलो पटक रक्तदान गरेको अनुभव सुनाउँदै यसले आफूलाई सामाजिक दायित्व पूरा गर्ने अवसर दिलाएको बताएका थिए ।
शिवम मार्ग महिला सञ्जाल सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहेको छ। रक्तदानजस्ता मानवीय कार्यहरू आयोजनाका साथै, सञ्जालले महिला सशक्तीकरण, सफाइ अभियान, सामुदायिक विकास तथा विभिन्न सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
सञ्जालको नेतृत्वले समाजमा महिला सहभागिता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।
महिला सञ्जालका प्रयासले अन्य संघसंस्थाहरूलाई पनि रक्तदान कार्यक्रम जस्तो मानवीय कार्यका लागि प्रेरित गरेको छ। समाजमा सेवाको भावना र जिम्मेवारीको भावना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। सञ्जालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ । स्वास्थ्य, शिक्षा, तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय रहँदै समाजलाई थप योगदान दिने उद्देश्यका साथ सञ्जाल अघि बढिरहेको धितालले जानकारी दिईन ।

प्रतिक्रिया