१९ पुस, सिन्धुली । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाले र कांग्रेस पार्टी परित्याग गरेका तीन सय भन्दा बढी नेता कार्यकर्तालाई माओवादी पार्टीमा स्वागत गरेका छन्।
माओवादी केन्द्रको मरिण गाउँपालिका समितिको तेस्रो पालिका सम्मेलन उद्घाटन समारोहमा प्रमुख अतिथि सापकोटाले २०० भन्दा बढी एमाले र १०० भन्दा बढी कांग्रेस कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा जिल्ला इन्चार्ज वसन्त माझी, संघीय सांसद लेखनाथ दाहाल, बागमती प्रदेश समिति सहसचिव प्रकाश श्रेष्ठ, जिल्ला संयोजक पानीराज बम्जनलगायत अतिथि थिए।
पालिका अधिवेशन बाहेक पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता सापकोटाको सहभागितामा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्। अखिल नेपाल शिक्षक संगठनको आयोजनामा भएको शिक्षक प्रशिक्षण कार्यक्रममा प्रवक्ता सापकोटाले उपस्थित शिक्षकहरूलाई वर्तमान परिस्थितिमा शिक्षकहरूको भूमिका र समसामयिक राजनीतिक परिदृश्यबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा करिब १५० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, प्रवक्ता सापकोटाले जनयुद्धका सहासी योद्धा निमराज माझी (रञ्जन) को निधनमा उहाँको निवास पुगेर शोक व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न अनुरोध गर्दै जनयुद्धमा माझीको योगदानलाई स्मरण गरेका थिए। सापकोटाले मरिण गाउँपालिका वडा नं. ७ मा रहेको सहिद विशालको स्मृतिमा स्थापित विशाल कुमार प्रतिष्ठान भवनको अवलोकन गर्दै भवनलाई थप व्यवस्थित गर्न सुझाव दिएका थिए। उनले पञ्चकन्या पोखरीको भ्रमण गरी यसको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै यसको विकासका लागि कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
सापकोटाले प्रेस सेन्टर नेपाल, सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकारहरूसँग अन्तरक्रिया गरेका थिए। यसैगरी, प्रवक्ता सापकोटाले मकवानपुर जिल्ला पार्टी कार्यालयमा रहेका नेता कार्यकर्ताहरूसँग भेट गरी जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए। उनले मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग विभिन्न विषयमा अन्तरक्रिया गरेका थिए।