लिसंखुपाखरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सम्पदा माविलाई

लिसंखुपाखर गाउँपालिकामा आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि सम्पदा माध्यमिक विद्यालयले हात पारेको छ।

१९ पुस, सिन्धुपाल्चोक। लिसंखुपाखर गाउँपालिकामा आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि सम्पदा माध्यमिक विद्यालयले हात पारेको छ। पुस १८ गते सम्पन्न फाइनल खेलमा सम्पदा मावि प्रथम स्थानमा रहँदा, बुद्धोदय मावि दोस्रो तथा निगाले मावि तेस्रो स्थानमा रहे।

अत्तरपुरस्थित सिक्रे खेलमैदानमा सम्पन्न प्रतियोगिताका विजेता टोलीलाई प्रमुख अतिथि संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले पुरस्कार वितरण र सम्मान गरे। समापन समारोहमा सांसद सापकोटाले ‘स्वस्थ, सुखी र समृद्ध लिसंखुपाखर: पर्यटन, जलस्रोत, शिक्षा र कृषिमा आधुनिकीकरण र आत्मनिर्भरता’ भन्ने अभियानमा यस्ता प्रतियोगिताले सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा, पूर्व अध्यक्ष कमल नेपाल, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिता पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। यस्ता प्रतियोगिताले नयाँ पुस्ताको खेलकुदप्रतिको अभिरुचि बढाउँदै स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यसअघि, “स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद माईली तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठू देवी लामा, प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर बस्नेत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया