२१ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको छैटौं केन्द्रीय समितिको बैठक काठमाडौंको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको छ। राजनीतिक तथा सांगठनिक दृष्टिले महत्त्वपूर्ण मानिएको यस बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको उद्देश्य पार्टीलाई रुपान्तरण र पुनर्निर्माण गर्ने दिशामा ठोस खाका तयार गर्नु रहेको जानकारी दिए। बैठक ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको आवश्यकता’ शीर्षकमा आधारित रहने छ। प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको बृहत् जानकारी गराउनेछन्। यस क्रममा उनले पार्टीको आन्तरिक अवस्था, सरकारसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय सन्दर्भ र आगामी रणनीतिका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
बैठकमा प्रचण्डको प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ, जसका लागि उपस्थित केन्द्रीय सदस्यहरूलाई समय छुट्याइएको छ। पार्टीका पूर्ण सदस्यहरू, वैकल्पिक सदस्यहरू, विभिन्न आयोगका प्रतिनिधिहरू र भौगोलिक तथा गैरभौगोलिक प्रदेशका पदाधिकारीहरूको सहभागिताले पार्टीभित्र गहन बहसको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ प्रतिनिधि र सात भौगोलिक तथा तीन गैरभौगोलिक प्रदेशका १२५ पदाधिकारीसहित ८१४ जनाको उपस्थिति रहेको छ। फराकिलो सहभागिताले पार्टीभित्र विविध विचार र धारणा प्रस्तुत गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेकपा माओवादी केन्द्रको पाँचौं केन्द्रीय समितिको पूर्ण बैठक ११ महिनाअघि २०८० माघ २८ गते राष्ट्रिय सभागृहमा बसेको थियो। उक्त बैठकले पहिलो विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षा गरेको थियो। सो बैठकमा सांगठनिक सुधारका लागि विभिन्न कार्यक्रमहरू तय गरिएका थिए, जसको प्रभावकारिता र प्राप्त उपलब्धिको समीक्षा यस पटक गरिने बताइएको छ।
अहिलेको राजनीतिक परिस्थितिमा पार्टीले खेलेको भूमिकालाई लिएर समर्थन र आलोचना दुवै देखा परेको छ। सरकारमा सहभागी नभए पनि प्रमुख प्रतिपक्षको भूमिकामा माओवादी केन्द्रले राष्ट्रिय मुद्दाहरूमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। तर, पार्टीभित्र देखिएको सांगठनिक चुनौती र आन्तरिक असन्तोषलाई व्यवस्थापन गर्दै राजनीतिक सन्तुलन कायम गर्नु नै यो बैठकको मुख्य चुनौतीका रूपमा रहेको छ।
बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनले पार्टीलाई सुदृढ र समसामयिक बनाउन नयाँ रणनीति अघि सार्ने अपेक्षा गरिएको छ। प्रतिवेदनले पार्टीको सांगठनिक पुनर्संरचना, कार्यकर्ताहरूको क्षमता अभिवृद्धि, नयाँ सदस्यहरूको समावेशीकरण र विचारधारात्मक स्पष्टताको विषयलाई सम्बोधन गर्नेछ।
बैठकको अन्त्यमा पारित हुने निर्णयहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनहरूको तयारी, प्रतिपक्षको भूमिकामा सन्तुलन र नयाँ रणनीतिक पहलका लागि मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ। यो बैठक पार्टीको आन्तरिक सुधार र राजनीतिक भविष्य निर्धारणका लागि ऐतिहासिक महत्त्वको हुनेछ।