२२ पुस, काठमाडौं । बाल विवाह र महिला हिंसाविरुद्ध सन्देश दिन तयार पारिएको नेपाली फिल्म ‘जुना: एक व्यथा’ माघ २५ गते प्रदर्शनमा आउने तयारीमा छ। हालै सार्वजनिक गरिएको दोस्रो पोस्टरले दर्शकहरूको ध्यान आकर्षित गरेको छ। पोस्टरमा फिल्मका शीर्ष कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ। पोस्टरमा अस्मिता ढुंगामाथि बसेर निराश भावमा देखिन्छिन् भने कृष्ण रिसाएको अनुहार र कर्के नजरका साथ दौरा, टोपी, र दाह्री-जुँगाको गेटअपमा प्रस्तुत छन्।
जीवन सेञ्चुरीको निर्देशनमा बनेको यस फिल्ममा अस्मिता र कृष्णसहित देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने लगायतका कलाकारहरूको अभिनय छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन्। निर्देशक जीवन सेञ्चुरीका अनुसार फिल्मले समाजमा व्याप्त बाल विवाह, महिला हिंसा, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, र छाउपडी प्रथाजस्ता समस्याहरूलाई उजागर गर्दै सामाजिक परिवर्तनका लागि प्रेरणा दिने उद्देश्य लिएको छ।
निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारालाई अघि सारेको जानकारी गराएका छन्। फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन्। संगीतकार बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीतमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले स्वर दिएका छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको यस फिल्ममा जीवन सेञ्चुरी र भीमबहादुर पौडेलका शब्द प्रयोग भएका छन्।
फिल्मको विशेष प्रिमियर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू, विज्ञहरू, लेखक, र समालोचकहरूको उपस्थितिमा सम्पन्न भइसकेको छ। फिल्मका वितरकहरू एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनी हुन्।
‘जुना’ फिल्मले नेपाली समाजमा व्याप्त कुप्रथाहरूलाई अन्त्य गर्दै न्याय र समानताको पक्षमा आवाज उठाउने प्रयास गरेको छ। माघ २५ गते प्रदर्शनमा आउने यो फिल्मलाई दर्शकहरूले उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।
फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको अवसरमा अभिनेता कृष्णप्रसाद धितालले भने, “फिल्मको दोस्रो पोष्टर सार्वजनिक भए संगै मेरो कलाकारितालाई नजिकबाट पछ्याइरहनु भएको र हरेक कुरामा सकारात्मक आलोचना गर्नुहुने प्रिय मनहरूको धेरै फोन अनि म्यासेज आएको छ। यो कुराले निकै हौसला थपेको छ नै। तर भन्न चाहन्छु कलाकारितामा आजको दिनसम्म अभावमा पनि, दबाबमा पनि, वा अन्य कुनै कुराको पर्वाह नगरि, आज पनि छु र भोलि पनि रहनेछु। जीवनले सिकाएको पाठ भनेको कर्म गर, त्यो पनि धैर्य र इमानदारीपूर्वक। सफलता होला या नहोला, तर यो फिल्म नेपाली चलचित्र क्षेत्रमा समाजको कथा बोल्ने फिल्मको रूपमा दर्ज हुने विश्वास छ।” उनले भने, “धेरैले पूर्णबहादुरको सारङ्गी अनि विजय बराल दाइसँग तुलना गर्न थालिसक्नुभएको छ। कृपया यो पाटोलाई छोडिदिनुहोस्। फेरि भन्छु, कर्ममा विश्वास गर।”