एमालेको केन्द्रीय समिति सकियो, ‘पार्टीभित्र कुनै पूर्व समूहहरु छैनन्, सबै एमाले हुन्’ ओली

यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरु पारित गर्दै आज सकिएको छ ।

२३ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरु कायम नरहेको र सबै वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेकाले त्यस्ता पूर्व समूहहरु खोज्नतिर नलाग्न आग्रह गरे । “एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’’
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे । प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए । यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरु पारित गर्दै आज सकिएको छ ।

प्रतिक्रिया